काठमाडौं : असोज ३०, प्रहरीले दाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यपश्चिम कमाण्ड इञ्जार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’सहित २१ जनालाई पक्राउ गरेको छ । चन्द विप्लवका सहोदर दाइ हुन् । सो पार्टीको राप्ती ब्युरोको बैठक चलिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो ।

व्युरोको बैठक राजपुर गाउँपालिका–४ स्थित मरेठा जंगलमा चलिरहेको थियो । बैठकबाट राप्ती व्युरो इञ्जार्ज तथा केन्द्रीय सदस्य केशबहादुर बाठा समेत पक्राउ परेका छन् । पक्राउ परेकाहरु सबै राप्ती ब्युरोकै सदस्य रहेको नेकपाले बताईसकेको छ ।

एक प्रहरी अधिकारीका अनुसार प्रहरीलाई विप्लव नै राप्ती व्युरोको बैठकमा पुग्ने सूचना आएको थियो । सो पार्टीबारे सूचना आएपछि प्रहरी टोलीले आन्तरिक रुपमा अतिगोप्य रणनीति बनाएको थियो । एक उच्च प्रहरी अधिकारी अनुसार विप्लव दाङ आसपासकै जिल्लामा छन् भन्ने सूचना लगातार आइरहेको थियो । त्यसैले हामीले उच्च निगरानी सुरु गरेका थियौं । बुधबार राति पनि विप्लव नै छन् कि भन्नेसम्मको सूचना थियो उनले भने ।

प्रहरीले छुट्टाछुट्टै स्थानबाट बैठक बसिरहेको जंगल घेरा हालेर २१ जना नेताहरुलाई पक्राउ गरेको थियो । प्रहरीले विप्लवलाई खोज्न गोप्य टोली नै परिचालन गरेको छ । तर बुधबार विप्लव पक्राउ नपरे पनि राप्ती व्युरोको पूरै टोली पक्राउ परेको र यसले नेकपालाई ठूलो क्षती पुगेको छ । एकैपटक नेकपाका २१ जना उच्चस्तरका नेता पक्राउ परेको पहिलो घटना हो ।