इराकको राजधानी बगदादमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै ,६० को मृत्यु ,२ सय जना घाइते
इराकको राजधानी बगदादमा जारी सरकार विरोधी प्रदर्शनको क्रममा ४ दिनको अवधिमा ६० जनाको मृत्यु भएको छ । करिब २ सय जना घाइते छन् ।
इराकमा बढ्दो बेरोजगारी, खराब सार्वजनिक सेवा र भ्रष्टाचारबाट आक्रोशित युवा सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका छन् । सरकार विरोधी प्रदर्शन हिंसात्मक बनेको छ ।
मृत्यु हुनेको संख्या शुक्रबार दोब्बरले बढेको बीबीसीले जनाएको छ । सेनाका अनुसार अज्ञात बन्दुकधारीले बगदादमा चार जनालाई गोली हानेर मारेको र मारिनेमा २ जना प्रहरी अधिकारी पनि रहेको जनाएको छ ।
यसैबीच प्रधानमन्त्री अदेल अब्देल महदीले भने शान्तिको अपिल गरेका छन् । उनले गरिब परिवारलाई सहयोग गर्न हरसम्भव कोसिस गरिरहेको जनाएका छन् । कुनै पनि समस्याको समाधान जादूको छडी जस्तो हुँदैन भन्दै उनले जनतालाई संयमित हुन र शान्ति कायम राख्न अपिल गरेका छन् ।
प्रधानमन्त्रीले संयमित हुन भने पनि इराकमा विरोध प्रदर्शन रोकिएको छैन । प्रदर्शन झन् चर्किंदै गएपछि राजधानी बगदाद सहित धेरै स्थानमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।
शुक्रबार बगदादको तहरीर चोक सम्म पुग्ने कोसिस गरिरहेका प्रदर्शनकारीहरु माथि सुरक्षाकर्मीले गोली चलाएका थिए ।
यसैबीच इराकका एक वरिष्ठ शिया नेता अयातोल्लाह अली अल सिस्तानीले विरोध प्रदर्शन प्रति दुःख व्यक्त गरेका छन् । उनका प्रवक्ता अहमद अल सेफीले भनेका छन्- सरकार जनताका आशा अपेक्षा पूरा गर्न असफल भएको छ । प्रशासनले परिवर्तन अति आवश्यक छ भन्ने बुझ्नुपर्छ । यदि जनताले परिवर्तन चाहन्छ भने सरकारले त्यसलाई सुन्नुपर्छ ।