‘दोस्रो राजीनामा’ पत्र महराले सुटुक्क बुझाए
काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खुलासा भएको छ ।
महराले मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका थिए । जसमा छानबिन प्रकि्रया पूरा नभएसम्मका लागि भन्ने उल्लेख थियो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उच्च स्रोतका अनुसार महराको यस्तो राजीनामा पत्र उपसभामुख शिबमाया तुम्वाहाङ्फेले अस्वीकृत गरेकी थिइन ।
यो राजीनामा आफूले स्वीकार नगरी दराजमा थन्क्यार राख्ने उनको चेतावनी थियो । उपसभामुखको यो कदमबारे नेकपा नेतृत्व पनि जानकार थियो । त्यसपछि महराले शर्तरहित अर्काे राजीनामा पत्र उपसभामुख समक्ष पठाएको स्रोतको दावी छ ।
अर्काे राजीनामा पत्रका आधारमा उपसभामुख तुम्वाहाङ्फेले बुधबार दिउँसो महराको राजीनामा आएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी थिइन् । उक्त सूचनामा पनि महराले पहिलो पटक बुझाएको राजीनामा पत्रमा भएको जस्तो शर्त उल्लेख छैन ।
नेकपा स्रोता भन्छ, ‘अब महरा सभामुख रहनुभएन, संसद सचिवालयले उपयुक्त समयमा नयाँ सभामुख चयनको प्रकृया सुरु गर्ने छ ।’
महरालाई गत सोमबार सचिवालयकै एक कर्मचारीले यौन दूर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
आरोप सार्वजनिक भएसँगै सर्वत्र बिरोध सुरु भएपछि नेकपाको सचिवालयको निर्देशनपछि महराले मंगलबार सर्तसहितको राजीनामा दिएका थिए ।