Logo

डेढ सय व्यक्तिका पदक खोसिदै


विभूषित व्यक्ति सम्पर्क मै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रदान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । पछिल्लो ९ वर्षमा प्रदान गरिएका १ सय ४२ पदक गृह मै बेवारिस छन् । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटक -पटक आग्रह गरिए पनि बेवास्ता गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

‘विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड–२०७५’ अनुसार मान -पदवी प्रदान गरिएको १ वर्ष भित्र सम्बन्धित व्यक्तिले नलिएमा स्वत: रद्द हुन्छ । मापदण्डअनुसार गृहले फिर्ता सम्बन्धी निर्णय लिए पूर्व -प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला (मरणोपरान्त) सहित १ सय ४२ जनाकै पदक खोसिनेछ ।

सरकारले संविधान दिवसको अवसर पारेर शुक्रबार ६ सय ३४ लाई मानपदवीमा सिफारिस गरेको छ । ती व्यक्तिलाई २०७७ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नेछिन् । गत वर्ष ३ सय ४२ जनालाई मानपदवी प्रदान गरिएको थियो ।

मापदण्डलाई आधार बनाएर त्यस्ता मानपदवी फिर्ता वा रद्दसम्बन्धी निर्णय लिन लागिएको गृह मन्त्रालयले जानकारी दिएको छ । पदक फिर्ता वा रद्दको निर्णय मन्त्रि परिषद्ले गर्नुपर्छ । विशेष कारणवश सम्पर्कमा आउन नसकेकाहरूको हकमा भने निर्णयले फरक नपार्ने मन्त्रालयको भनाइ छ । विभूषण समितिको सिफारिसमा मन्त्रि परिषद्ले पदक रद्द गर्न सक्ने गृह मन्त्रालयका प्रवक्ता राम कृष्ण सुवेदीले बताए ।

‘१ वर्षभित्र पदक लिन नआए विभूषण समितिको सिफारिसमा मन्त्रि परिषद्ले रद्द गर्न सक्छ,’ सुवेदीले भने, ‘मानपदवी पाएका व्यक्तिलाई पटक -पटक ताकेता गर्दा पनि लिन आउनुभएको छैन, अब यसको उचित व्यवस्थापन गरिनेछ ।’

‘यो कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड प्रारम्भ भएपछि राष्ट्रपतिबाट विभिन्न व्यक्तिलाई प्रदान हुने विभूषणको सुशोभन समारोहमा अनुपस्थित हुने एवं त्यसपछि पनि प्रदान गरिएको विभूषण गृह मन्त्रालयबाट १ वर्षभित्र बुझिलिन सम्पर्कमा नआएको खण्डमा सो घोषित विभूषण स्वत: रद्द हुनेछ,’ गत वर्ष असारमा मन्त्रि परिषद्बाट जारी मापदण्डको दफा ७ मा भनिएको छ ।

मानपदवी बिक्री वा बन्धकीमा राखे, अरूलाई दिए वा मर्यादा विपरीत प्रयोग गरे, निलम्बनमा, कालोसूची, नैतिक पतन, फौजदारी कसुरलगायतमा संलग्नलाई दिएको पदक पनि रद्द हुन्छ । २०६५ जेठ १५ मा गणतन्त्र घोषणा भए सँगै २०६३ अघि तत्कालीन सरकारका तर्फबाट प्रदान गरिएका मानपदवी खारेज गरिएको हो । २०६७ बाट परिवर्तित व्यवस्थाअनुसार पदक वितरण सुरु भएको हो ।

पछिल्लो मापदण्ड जारी भएपछि पनि विभूषित व्यक्ति पदक लिन नआएको गृह मन्त्रालयले बताएको छ । उप -प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिले मापदण्ड ल्याएको थियो । पूर्व -प्रधानमन्त्री स्व. कोइरालालाई २०६७ सालमा प्रदान गरिएको मरणोपरान्त ‘राष्ट्र गौरव’ पदक पनि ८ वर्ष देखि गृहमै छ ।

कोइरालाका परिवारलाई पदक ग्रहणका लागि पटक -पटक आग्रह गर्दा पनि लिन नआएको मन्त्रालयको भनाइ छ । वरिष्ठ राजनीतिज्ञहरू रामराजा प्रसाद सिंह, नर बहादुर कर्माचार्य, निर्मल लामा र रामहरि जोशीलाई २०७३ मा प्रदान गरिएको मरणोपरान्त ‘महाउज्ज्वल राष्ट्रदीप’ सम्मान पनि परिवारले बुझेका छैनन् ।

२०७५ मा वरिष्ठ राजनीतिज्ञ गजेन्द्र नारायण सिंह (मरणोपरान्त) र राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई पनि महाउज्ज्वल राष्ट्रदीप प्रदान गरिएको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्