“किराती समाजमा लिपी र भाषाको सवाल”-भाई किराती

Breaking News विचार/ब्लग

-भाई किराती

समाज बिकास क्रमको आधारभूत चरण अर्थात पूर्वीय सभ्यता निर्माणको क्रममा किराती समाजको महत्त्वपूर्ण देन छ । किराती नेतृत्व अर्थात किराती पुर्खाहरुको प्रगतिशील चेत भएकै कारण श्रम बिधि र सामान्य युद्धको नियमको आधारमा गरि दुइटा महान क्रान्ति सम्पन्न गरेका छन् । श्रम बिधि :- भन्नाले जंगली युगको बर्बर अवस्थाबाट समाजलाई कृषि युगमा प्रवेश गराउन सफल भएका थिए । भने सामान्य युद्धको नियम भन्नाले:- सामन्तवादको स्थापनाद्वारा दास मालिक युगको अन्त्य गर्न सफल भए । यसरी मानव समाजमा किराती पुर्खाले ऐतिहासिक र मौलिक पहिचान सहितको सभ्यता स्थापना गरेका छन । तर नेपाली बजारमा भने ब्राह्मणवादी दर्शन र आइएनजिओको बौद्धिक तथा विज्ञ नामक उपाधीको बैशाखी टेकेर उभिएका, जो कोही किराती अनुहारका, उसका सिपाहीहरु सामान्यतया किराती समाज भित्रको थरीहरुलाई नै सभ्यता भन्ने भ्रम दिन्छन् । अथवा किराती सभ्यता भित्रको भाषिक समुदायलाई फरकफरक जाति हो भनी बिभक्त गरिदिन्छन । अनि त्यसैलाई उनीहरू मिश्रित जाति वा मिश्रीत सभ्यता भन्दा रहेछन, यो सरासर गलत र झुठो प्रचार बाजी मात्र हो । यसबाट नै उसको बौद्धिकता र विज्ञताको उपाधीको मूल्य कत्ति छ भन्ने स्पष्ट हुन्छ ।

सभ्यता civilization :-

आदिम साम्यवादी युगको मानव समाज कुनै कालखण्डमा गोत्र समाजमा परिणत भयो । अर्थात गोत्र समाज भन्नाले रक्तसम्बन्ध भित्रको झुन्ड वा त्यस्तो समुह हो । गोत्र समाज मातृसत्तात्मक प्रणालीमा आधारित थियो । जुन समाजमा गोत्र अनुसार सम्पर्कको लागि सामान्यत: बोलचालको भाषा हुन्थ्यो । त्यस समयमा लेखपढ गर्ने कुनै चेतना नै थिएन वा आवश्यक नै थिएन । त्यो बेला मान्छेले त्यत्ति मात्रै आर्जन गर्थे जत्तिले उसको सामान्य आवस्यकता पुर्ती हुन्थ्यो । त्यसपछि भौतिक परिवेशले नयाँ नयाँ फड्को मार्दै गयो । जसको कारण मान्छेले भौतिक परिवेशलाई बुझ्न बाध्य भए । जसले गर्दा समाज बिकास क्रम तिब्र गतिमा अघि बढ्यो । यसरी मानव जंगली युग, बर्बर युग हुँदै दास मालिक युगमा प्रवेश गर्‍यो । प्रत्येक चरणको प्रणाली नै अलगअलग अर्थात मान्छेले नभोगेका संस्कृति तथा व्यवस्थाको बिकास हुँदै गयो । जसमा मालिक प्रवृत्ति र दास प्रवृत्तिको जन्म हुनगयो । अन्ततः ती दुई प्रवृत्ति बीच ठुलो अंतर्विरोध पैदा भयो र दासहरुले मालिकको विरुद्धमा बिद्रोह गरे । यस युगलाई मानव समाजको पहिलो वर्ग बिभाजनको युग पनि भनिन्छ । जब दास बिद्रोह सफल भयो तब सभ्यताको युग सुरु भयो । जसमा तत्कालीन किराती पुर्खाहरुले दासहरुको पक्षमा सशक्त सहभागीता जनाएका मात्रै थिएनन कि कुनै भूभाग केन्द्रित मोर्चाको कुशलता पूर्वक नेतृत्व नै गरेका थिए । जुन उत्पीडनको विरुद्धमा केन्द्रित दासहरुको मोर्चा नै मानव समाजको वास्तविक र पहिलो क्रान्तिकारी मोर्चा हो । कुनै कालखण्डमा किराती समाजमा तत्कालीन परिवेशलाई सही विश्लेषण गर्नसक्ने चेत भएका एक यलम्बर नामको मानव अस्तित्वमा आए जसलाई समाजको ठुलो हिस्साले समर्थन गर्‍यो र यलम्बरको नेतृत्वद्वारा क्रान्तिकारी राज्य व्यवस्था स्थापना गर्न सम्भव भयो । यो सम्पूर्ण पूर्वीय समाजको सबैभन्दा ठूलो र ऐतिहासिक क्रान्ति हो ।

सभ्यताको परिभाषा:-

“सभ्यता” अर्थात सभ्य हुन भनेको आ-आफ्नो अस्तित्वमा रहेको गोत्रमा आधारित समूहले स्थापना गरेको आफ्नो छुट्टै अथवा फरकफरक मौलिक परिचय हो । वा सभ्य समाज भनेको स्थापित मौलिक परिचय सहितको समाज हो । स्थापित मौलिक परिचय भन्नाले :- जुन समाजको- बैचारिक, राजनीतिक, सामाजिक र आर्थिक तथा उत्पादन प्रणाली साथै साँस्कृतिक मुल्य मान्यता, लिपी, भाषा र आफ्नै मौलिकताको तिथि मिति सहित साल सम्बतको व्यबस्थित ढाँचा वा सम्पूर्ण विषयको उचित व्यवस्थापन हो । अथवा जसको समष्टि रुपलाई सभ्यता भनिन्छ ।

सभ्यताको वास्तविक धरातलमा उभिएर विश्लेषण गर्ने हो भने । अहिलेको परिवेशमा किराती समाजका केही बाहेक नेतृत्व तह, विज्ञ साथै बौद्धिकहरुको ठुलै हिस्सा परनिर्भरतामा निहित छन । भनाइको तात्पर्य, धेरैजसो बौद्धिक भनिएकाहरुकै कमजोरीको कारणले हाम्रो मौलिक परिचयहरु गुमिरहेका छन । यसरी सर्वसाधारण जनताले भरोसा गरेका महान मान्छेहरुको हालत त्यो छ । भने तिनीहरुलाई आफ्नो आदर्श पात्र मानेर लाग्नेहरुको त झन कसतो कन्तबिजोग होला ? अर्थात यही चाल हो भने आगामी दिनहरुमा हाम्रो अस्तित्व कहिँ कतै भेटिने छैन । सालमा दुई चार दिन साकेला नाच्दैमा र एकदिन यले सम्बतको रौनक मच्चाउँदैमा अथवा किराती शब्दको मुखरित रटानले मात्र हाम्रो सभ्यता पुनर्स्थापित हुने भए किन गिदीलाई टन्टा ओइराउनु ? अझ भनौं, हामी के हौं र कस्तो समाज हौं ? भन्नेबारे बिल्कुलै अन्योल ग्रस्त छन । र कता लाग्ने कुन बाटो रोज्ने ? भन्ने बारे पनि बिल्कुलै अनभिज्ञ छन । अझै यसो भनौं कि तिनीहरूले अकर्मण्यताको पर्दा च्यात्न सकेका छैनन् । यसतो अवस्थामा तिनीहरु बीचको बाटो रोज्दछन । अनि “हामी कुनै पनि बिचारको पक्ष वा विपक्षको कित्तामा नउभिएको, विशुद्ध समाजको निम्ति सामाजिक भावनाको पक्षमा छौँ” भनी आफै स्वघोषित महान विद्वान भएको स्याल हुइँया दम्भ गर्दछ्न । र तिनीहरु जता शक्ति केन्द्रित हुँदै जान्छ त्यतै तिर ओइरिन्छ्न । जसको यात्रा अवसरवाद, अतिवाद हुँदै अन्ततः बिसर्जनवादमा पतन हुन्छ । त्यस प्रवृत्तिको कारण समाजमा बाँकी रहेको केही हाम्रा चिनारीका सप्रमाणहरु समेत गुम्ने निश्चित छ ।

लिपी :-

किराती समाज बैज्ञानिक र दार्शनिक दृष्टिकोणले त पछि छ नै मुलतः हामी सामु लिपीको विषयमा पनि उत्तिकै चुनौतीपूर्ण वा गम्भीर नैतिक प्रश्न खडा छ । के हो किराती लिपी ? कस्तो छ किराती लिपी ? के हो सिरिजङ्गा लिपी ? यस विषयमा किन बेवास्ता ? कि किराती समाजलाई लिपीको आवश्यकता नै छैन त ? या त लिपीको विषय “कागलाई बेल पाक्यो हर्ष न बिस्मत” जस्तै हो ? यदि त्यसो हो भने यो गम्भीर विषय हो । गतिशील समाजले जहिल्यै पनि स्पष्ट मार्गदिशा खोज्ने गरेको छ वा सही निकास खोज्दछ । तसर्थ समाजलाई अनिर्णयको बन्दी बनाइराख्नु भनेको आफ्नै समाजको गला रेट्नु बाहेक केही होइन । लिम्बु-खम्बु बीच घनिभूत ढंगले छलफल, बहस र एक अर्कामा समझदारी, सहमति गरि सिरिजङ्गा लिपीलाई आम किरातीको साझा लिपी हो भनेर पुष्टि गरिसक्नु पर्ने बेलामा आफ्नै अनुहारका नै केही हुल नेता, बौद्धिक तथा विज्ञ भनिनेहरु चाहिँ भएको समाज पनि यो वा त्यो बहानामा विघटन गर्नको निम्ति न्वारान देखिको बल लगाउदैछन । त्यत्ति मात्रै कहाँ हो र कतिपय किराती पहिचान आन्दोलनका अभियन्ताहरुकै क्रियाकलाप हेर्दा मुखमा “किराती पहिचान” दिमागमा “किराती विघटन” को नारा लिएर दौडिरहेको भान हुन्छ । खासमा त्यस्तो त नहुनु पर्ने हो । होइन भने किरात राई यायोक्खाको स्थापना भएको तीन दसक भइसक्यो । अझ भनौं, किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङहरु जन्मको हिसाबले समकालीन हुन । तर आजसम्म किराती सभ्यता सहितको मौलिक  पहिचानलाई पुष्टि गर्ने काम कत्ति र के के गरेका छन ? फेरि केही समय अघि मात्रै यायोक्खाले गलत गर्‍यो भन्दै किरात महासंघको उदय भएको छ । त्यस्को पनि मुल उद्देश्य भनेको किराती समाजलाई सूचीकरणको बहानामा विघटन गर्ने भन्दा अरु केही देखिँदैन । यदि किरात महासंघ भन्ने संस्था किराती पहिचानको निम्ति स्थापना भएको हो भने लिपीको विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउनु पर्छ । र भाषामा देखिएको बिबिधता बारे ठोस धारणा सहित एकताको लागि निर्णायक भूमिका खेल्नु पर्नेछ । के त्यो संस्थाले, “किरात” को औचित्य पुष्टि गर्न सक्छ ? अथवा किराती समाजको बिबिधतामा विभक्त गरिएको भाषालाई कुनै एकताको सूत्रमा बाँध्ने आँट गर्न सक्छ ?

पछिल्लो समयमा सामाजिक संस्थाहरुले पनि राजनीतिक नारालाई फेसनको रुपमा प्रयोग गर्न थालेका छन । तर राजनीतिक मोर्चा वा संगठन राजनीतिक दर्शनमा निर्भर रहन्छ र त्यो दर्शन राज्यको प्रतिकुल नै हुन्छ । यदि राजनीतिक मोर्चा हो भने त्यसले राज्यसत्ताको गलत प्रवृत्ति वा निति बारे आम समाजको हितमा राज्यलाई नैतिक प्रश्न उठाउने हैसियत राख्दछ । तर उत्पीडनमा परेका समाजले राज्य प्रति नैतिक प्रश्न उठाएको खण्डमा भने सामाजिक संस्थाहरु राज्यको ढाल बन्ने गर्दछ । अथवा त्यस्तो परिस्थितिमा सामाजिक संस्थाले आफ्नै समाजलाई नियन्त्रण गर्दछ । किनभने सामाजिक संस्था भनेको राज्य अनुकुलको बिधानमा निर्भर रहन्छ । उसले आफ्नो विधानमा उल्लेखित प्रावधान भन्दा पर गएर राज्यको प्रतिकुल क्रियाकलापहरु गर्ने छुट हुँदैन । तसर्थ जतिसुकै प्रभावकारी सामाजिक संस्था भएपनि त्यो राज्यको गलत कदम विरुद्ध जान सक्दैन । तर बजारमा भने राजनीतिक कार्यकर्ताहरुकै नेतृत्वमा सामाजिक संस्थाहरु स्थापना हुन्छन । तसर्थ जत्तिसुकै रोगन घसेर सिंगारिए पनि अन्ततः आ-आफ्नै स्कुलिङको वास्तविक रंग त देखिने नै भयो । तर सामाजिक संस्था भनेको सिमित घेरा भित्र बन्दी हुन्छ । यदि उसले कुनै पनि राजनीतिक नारा दिन्छ भने त्यसले राज्यको नियोजित कार्यक्रम लिएर आएको छ भन्ने बुझ्नुलाई गाह्रो मान्नु पर्ने कुनै पनि कारण देखिँदैन ।

लिपीको बारेमा २०४२/०४३ साल तिर खोटाङ खाम्खुवा निवासी तिलक चाम्लिङ, पारुहाङ मासिक पत्रीका लिएर हाम्रो गाउँ आउनुभो, चिनजान भयो । अनि वहाँले यो किराती लिपी हो यसको प्रयोग व्यापक गर्नुपर्छ भनेर सिकाउनु भो । त्यसरी वहाँले हामीमा एक तहको जागरुकता पैदा गरिराख्नुभो । त्यही मानसिकताका साथ अघि बढ्ने क्रममा  तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चाले पनि त्यही लिपी प्रयोगमा ल्यायो । यसरी किराती लिपी स्थापित हुन लागिरहेको स्थितिमा नियोजित ढंगले भाँजो हालियो । र यो सिरिजङ्गा लिपी लिम्बुको मात्र हो किराती लिपी होइन भन्ने भ्रम फैलाए । फेरि यस विषयमा तत्कालीन किराती राष्ट्रिय मुक्ति मोर्चाको प्रथम अध्यक्ष भक्तराज कन्दङ्वा देखि श्रीप्रसाद जबेगु, पदम साङ्पाङ, सुदन किराती र राजन किराती सम्म आइपुग्दा पनि किराती लिपी र भाषा एकताको बारेमा कुनै संस्थागत रुपमा प्रारम्भिक छलफल सम्म हुन सकेन । अन्ततः चौथो राष्ट्रिय सम्मेलनको पृष्ठभुमिमा किराती समाजको बैचारिक, राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, लगायत दार्शनिक अंगहरु सबै मुन्धुममा जोडिएको छ र मोर्चाले यसलाई विशेष ग्राह्यता दिएर लानुपर्छ, भन्ने हाम्रो प्रस्तावलाई मात्र ब्यक्तिगत चासोको विषय हो भन्ने बनाईयो ।

सिरिजङ्गा लिपी :-

प्राचीन कालमा स्थापना भएको सभ्यतालाई समाहारको दृष्टिकोणले नियाल्दा किराती सभ्यताले आफ्नो मौलिक परिचयको निम्ति जत्ती अंगहरुको आवश्यकता थियो त्यो सबै जुटाएर नै हरेक विषय एकअर्का प्रति परिपुरकको भूमिकामा सूत्रबद्ध गरेका हुन । यस अनुसार किराती समाजको लिपी नै छैन भन्ने कुरा कुतर्क मात्र होइन अवैज्ञानिक छ । लिपी भनेको, शिक्षा अर्थात शैक्षिक बिकास क्रमसँग संबंधित छ । किन कि आज नेपालको देवनागरी लिपी नभैदिएको भए हिन्दु आर्य समाज, राज्यसत्तामा यत्तिका लामो अवधि सम्म किमार्थ रहन सक्ने थिएनन् । यसर्थ सभ्यता निर्माण गर्ने समाजसँग लिपी नै छैन भन्ने तर्क अवैज्ञानिक मात्र होइन अपमान जनक छ । पछिल्लो परिवर्तित परिवेश सँगै बजारमा आएको सिरिजङ्गा नामद्वारा परिचित लिपी किराती लिपी नै हो । यस तर्क प्रति हामी सहमत छौँ, कि समाजले निर्माण गरेको किराती मौलिक परिचयहरुलाई दुश्मनले एक एक गर्दै मास्ने क्रम तिब्र बन्दै जाँदा सिरिजङ्गा नामक किराती पुर्खाले जुन लिपी कुनै ठाउँ सुरक्षीत गरिराखेको पक्कै हो । तर सिरिजङ्गा नै त्यो लिपीको निर्माता भने हुन सक्दैन । किनभने सिरिजङ्गाको इतिहास भन्दा करिव १८/१९ सय वर्ष अघि नै किरातीले राज्यसत्ता स्थापना गरी ३२ पुस्ता राज्यसत्ता संचालन गरिसकेका थिए । अब सवाल छ कि त्यसो भए किराती पुर्खाहरु लिपी बिना नै त्यत्ति लामो अवधि बाँचेका थिए ? कदापि यो हुन सक्दैन । फेरि यता लिम्बु र खम्बु छुट्टिएको धेरै शताब्दी गुज्रिसकेको पनि छैन । क्षेत्रीय लवाज र भाषाको आधारमा नाम फरक हुन सक्ने कुरा प्रति सहमत जनाउदै प्राप्त जानकारी अनुसार “दास्का” नामक किरातीको लेलिङ र खाम्सोसो नामका दुइभाइ छोरा थिए । स्रोतका अनुसार पछि लेलिङको वंश बिस्तारबाट लुङ्बुङ्वा हुँदै लिम्बु समुदाय अस्तित्वमा आए र खाम्सोसोको वंश बिस्तारबाट खाम्बुङ्वा हुँदै खम्बु समुदाय स्थापित भए । तर यो इतिहास इशा पूर्व कै भने होइन । त्यस अर्थमा पनि किराती सभ्यता भित्रकै लेलिङहाङको चाहिँ लिपी हुने र खाम्सोसोहाङको चाहिँ लिपी नहुने भन्ने कुरा तर्कसंगत छैन । या त सिरिजङ्गा लिपी लिम्बुकै हो भनेर पुष्टि गर्नको लागि खाम्सोसोहाङको लिपी कुन हो टुंगो लाइदिनु पर्ने हुन्छ ।

भाषा :-
किराती समाजको अर्को समस्या भाषा बिबिधता हो । भाषा बिबिधताको बारेमा यत्रतत्र चर्चा चल्ने गरेको छ । यसबारे अध्ययन कै विषय छ । तर चर्चा परिचर्चा अभियानमा मुख्यत भाषाविद, भाषाविज्ञ भनिने किराती बौद्धिकहरु कै मुल भूमिका रहेको छ । भाषा बिबिधता भनेको के हो ? भाषाको कुन चरित्र वा कुन अवस्था तथा कुन पराकाष्ठालाई बिबिधता भन्ने हो ? भाषा बिबिधता नै हो भनेर छुट्टाउनलाई बिधि के हो ? यो स्पष्ट छैन । कुनै एउटा लेखमा उल्लेख गरिएको थियो कि, किराती समाजमा दुइटा भाषा छन एउटा रिसिवा भाषा अर्को पाल्सी मिसावट भाषा हो । अब प्रश्न छ कि रिसीवा भाषामा बिबिधता हो कि, पाल्सी मिसावट भाषामा बिबिधता हो ? आजको युगले त्यो कुरा प्रति स्पष्टीकरणको माग गर्दछ । रिसीवा भाषामा बिल्कुलै बिबिधता छैन । उदाहरणको लागि  बान्तावा समुदाय र कुलुङ समुदाय बीच तीन चुला साक्षी राखेर बिधिवत ढंगले बिबाह चल्छ । अर्थात किराती समाज भित्रको थरीहरुसँग एक अर्कामा बिधिवत ढंगले बिहेवारि चल्छ यस्को तात्पर्य किराती समाजमा एउटै मुन्धुमी रिसीवाको मान्यता छ । रिसीवा, मुन्धुमको एउटा अंग हो । रिसीवा भन्ने यस्तो भाषा हो जुन कुलुङ रिसीवाविदले गाएको रिसीवा चाम्लिङ रिसीवाविदले बुझ्दछ । एवंरितले किराती समाजको हरेक भाषिक समुदाय बीच त्यही बिधि लागू हुने गरेको छ । अब हामी यो निष्कर्षमा पुग्दछौँ कि रिसीवा भाषा एकै हो । त्यसैकारण किराती समाजको भाषिक समुदाय बीच बैबाहिक सम्बन्ध जोड्दा रीत बुझाउनु सहज र संस्कार सम्मत मानिन्छ । तर आजको युगलाई त्यही दृष्टिकोणले हेर्नू समय सापेक्षित पनि हुँदैन । तथापि वास्तविक कुरा चाहिँ यो हो कि कुनै युगमा किराती समाज यस्तो संकटमय अवस्थामा पुगेको थियो । कि रक्तसम्बन्धमा बाँधिएको समाज भएको कारण बिबाह गर्नै समस्या भयो । तत्पश्चात दप्सनिङ अर्थात नयाँ गोत्रीय नाम दिएर थरी बिभाजन गरियो र बैबाहिक सम्बन्धमा आएको समस्या समाधान गरियो । पछि उसले फरक भाषा नै बोल्न थालेको पाइन्छ । किराती समाजमा बोलिने भाषा धातुको आधारमा र पाल्सी गरि दुइटा बिधिबाट केलाउनु पर्छ ।

धातुको आधारमा भाषा :-

भाषा कत्ति फरक छ भनेर थाहा पाउनलाई जुन जुन भाषाको शब्द हो त्यो शब्दको संरचना थाहा पाउनुपर्ने हुन्छ । अथवा त्यो शब्द कुन कुन धातुबाट निर्माण भएको छ भन्ने कुरासँग सरोकार राख्छ । अझै भनौं धातु नै फरक र त्यस्को अर्थ नै फरक हो या उल्टोपाल्टो गरिएको छ ? भन्ने विषय प्रमुख हो । विभिन्न शब्दहरू जस्तै आगोलाई मी, मु, मे आदि बाटोलाई लाम, ल्याम, लाप्डी आदि मासुलाई सा, स्या, स्यो आदि जानुलाई खारीने, खातिने, ख्वान्न्या, आदि सुर्यलाई नाम, न्वाम, निप्सुङ आदि दाउरा सिङ, सङ आदिको अर्थ एउटै छ । फरक यत्ति हो कि मात्राले छुटाएको छ । प्रतिशतको हिसाबले यत्ति नै भन्न नसकिएला तर बोल्दा कतिपय शब्द र अर्थ फरक पर्दैन भने धेरैजसो शब्द उही तर अर्थ भिन्न भएको देखिन्छ ।

पाल्सी भाषा बारे:-

पाल्सी भाषा भनेको puzzle अर्थात अल्मल्याउने भाषा हो । अर्थात जुन समुहको कोड भाषा हो । जसले बोलेको अरुले सहज ढंगले बुझ्न नसकोस । यो बोल्दा जो संबंधित समूहले मात्र सहजले बुझ्दछ । जुन भाषाको संरचना:- धातुको आधारमा बनेको शब्दमा फरक पर्दैन तर अर्थ फरक हुन्छ अथवा मुल शब्दलाई उल्टो पाल्टो गरेर वा शब्द उही भएपनि अर्थ उल्टो जनाउने नियममा आधारित छ । त्यसैले एक थरीले बोलेको शुद्ध शब्द अर्को थरीको निम्ति अशुद्ध वा अर्थ फरक हुने गरेको छ ।उदाहरणको लागि बाहिङ भाषामा कसैलाई आइपुग्यौ ? भन्दा “लेतानुओ” भन्छ भने त्यही शब्द खालिङ भाषामा संभोग गर्‍यो ? भन्ने अर्थ लाग्छ । त्यसतै चाम्लिङ भाषामा “लिपा” भनेको चाट्ने हो भने कुलुङ भाषामा त्यही शब्द गरुङ्गो भन्ने अर्थ लाग्छ । दुमी भाषामा “फेत्ते” भनेको पस्काउनु हो, भने लिम्बू भाषामा ल्याउनु हो । खालिङ भाषामा चोयाको गिद्रालाई “तेर्चिलिम” भन्छ, भने त्यही शब्द थुलुङ भाषामा योनी भन्ने अर्थ लाग्छ, आदि इत्यादि । मानौँ, बाँकी केही प्रतिशत मात्र होला शब्द र अर्थ नै भिन्न भिन्न भएको । यो धेरै ठूलो समस्याको विषय होइन । यसकारण किराती समाज भित्र बोलिने भाषाको सवालमा बिबिधता नै भन्नुपर्ने बलियो आधार भेटिँदैन । त्यस विषयमा कसैले असहमति जनाउछ भने त्यो उसको आत्मरती भन्दा अरु केही होइन ।

किराती संवत् कि यले संवत् ?

सभ्यताको अंग मध्ये पात्रो पनि महत्वपूर्ण नै मानिन्छ । तर किराती पात्रोको सवालमा झनै अन्योलग्रस्त छ । यसबारे केही समय अघिदेखि खास खास मान्छेले जो यले संवत् भनेर इशा पूर्व ३०,००मा आधारित मितिलाई मान्दै आएका छन । यो आधारभूत रुपले त राम्रो कुरा हो । तर विडम्बना,  यले संवत्लाई ३६५ दिनमा १ दिन तामझामका साथ रौनक मच्चाउने अनि ३६४ दिन खोपीमा थन्क्याउने गरिन्छ । यो विषय त “आफ्नो जन्म दिने आमा बाबुलाई ३६५ दिनमा ३६४ दिन ११ घण्टा बेवास्ता गर्ने अझै भएन भने बृद्धाश्रममा पुर्‍याइराख्ने अनि एक दिन मुख हेर्ने दिन रे त्यो पनि १ घण्टा सँगै बसेर photo figure बनाउने नौटंकी संस्कृति” जस्तै भएन र ? पात्रो त एक दिन सिंगारेर थन्क्याउने होइन प्रयोग गर्ने विषय हो । फेरि उता यले संवत् भनिएको छ भने मिति चाहिँ “ह्वाङ्हो सभ्यता” लाई लिइएको छ । यले भनेको यलम्बर हुन कि को हुन ? यदि यलम्बर हुन भने उनी इशा पूर्व ११०० तिरका शासक हुन । उनी भन्दा त अघि नै किराती सभ्यताको निर्माण भएको हो । फेरि किराती सभ्यता भनेकै ह्वाङ्हो सभ्यता हो र ? यसलाई गहन अध्ययनको विषय बनाउने कि यही नै हाम्रो बटम लाइन हो ? इतिहासकारहरुको पनि मतभिन्नता छ कतिपयले किराती सभ्यता ३७/३८ सय वर्ष  पुरानो हो भनेका छन । भने केहीले फरक भनेका छ्न । सबै विषयले छलफल, बहस साथै अन्तरक्रियाको खरो माग गर्दछ । कुनै पनि विषयलाई अहिल्यै absolute नबनाउनुमा नै हाम्रो मुन्धुमको भविस्य निर्भर रहन्छ ।