प्रतिगामीहरुले टाउको उठाउन खोजे युवा विद्यार्थीले त्यसको प्रतिवाद गर्ने
प्रतिगामी तत्वहरुले टाउको उठाए चुप लागेर नबस्ने नेकपाका युवा-विद्यार्थी नेताहरूले चेतावनी दिएका छन् । संविधान -दिवसको सन्दर्भमा अनेरास्ववियू केन्द्रीय कमिटी द्वारा माइतीघर मण्डलामा आयोजित शुभकामना आदान प्रदान तथा दीप प्रज्ज्वलन कार्यक्रममा उनीहरुले सो धारणा राखेका हुन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य खिम लाल भट्टराईले मुलुक प्रतिगमन तर्फ जान नसक्ने भन्दै प्रतिगामी तत्वहरुले टाउको उठाए नछाड्ने चेतावनी दिए । राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका भट्टराईले भने, ‘प्रतिगामीहरुले टाउको उठाउन खोजे युवा विद्यार्थीले त्यसको प्रतिवाद गर्नेछन् ।’
नेकपाकै अर्को केन्द्रीय सदस्य हिमाल शर्माले मसानघाटमा पुगेका भूतप्रेतहरु जाग्न थालेकोमा आक्रोश ब्यक्त गरे । शर्माले भने, ‘ठूलो वलिदानवाट प्राप्त संविधान र गणतन्त्र विरोधी धमिराहरुलाई वेलैमा ठेगान लगाउनुपर्छ ।’
अनेरास्ववियूका संयोजक ऐन महरले युवा विद्यार्थी चुप वस्दा प्रतिगामीहरु सल्बलाउन थालेको भन्दै गणतन्त्र र संविधानको रक्षाको जिम्मा युवा विद्यार्थीहरुले लिने बताए ।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले संविधानमा नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारको मौलिक हक कार्यान्वयनमा जुट्नुपर्ने बताए ।
पाँचौ संविधान दिवसको सन्दर्भमा माइतीघर मण्डलामा आयोजित शुभ -कामना आदान प्रदान तथा दीप प्रज्वलन कार्यक्रममा नेकपाका युवा सांसदहरु झपट रावल, यज्ञराज सुनुवार, नविना लामा, अनेरास्ववियूका पूर्व -अध्यक्षहरु ठाकुर गैरे, हिमाल शर्मा, माधव ढुंगेल, रत्न ढकाल, नेता सरोज यादव, अनिल शर्मा लगायतले दीप प्रज्वलन गरेका थिए ।