सामूहिक बलात्कार गरी हत्या गर्ने २ जनालाई आजीवन कारावास

एक बालिकालाई बलात्कार गरी हत्या गर्ने २ जनालाई जिल्ला अदालत, धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ ।
सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँ -पालिका–२, परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो ।
बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन कारावास सहितको सजाय सुनाएको हो । झण्डै एक वर्षअघि विसं २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामाशिष यादवकी १० वर्षकी छोरी मनिता कुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले रु १० को प्रलोभन देखाएर गाउँ भन्दा पर लगी बलात्कार गरी हत्या गरेका थिए ।
बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा फेला परे लगत्तै प्रहरीले दुवैलाई पक्राउ गरेको थियो ।