काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने नाकाको सडक दयनीय अवस्थामा , जोखिम पुर्ण यात्रा गर्न बाध्य
दसैं आउन दुई साता बाँकी छँदा काठमाडौं उपत्यकाको सडक, उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार भएको छैन
। ठाउँ ठाउँमा सडक विस्तार भइरहेकाले र निरन्तरको वर्षाका कारण सडक तथा राजमार्ग भत्किएका छन् भने सडक भरि खाल्टा खुल्टी परेर दयनीय बन्न पुगेको छ ।
काठमाडौंबाट बाहिरिने मुख्य नाका थानकोटको सडकखण्डमा खाल्टा खुल्टी देखिएका छन् । कलंकीबाट बाहिरिने अर्को नाका भक्तपुर सम्म राम्रो भए पनि बनेपा पार भएसँगै खाल्टा खुल्टीले सडक भरिएका छन् ।
बल्खुदेखि हेटौंडा निस्कने सडक खण्डको ठाउँ ठाउँमा पिच उप्किएको छ भने सडकभरि खाल्टा खुल्टी छन् । काठमाडौं–नुवाकोट–धादिङ तथा रसुवा जाने तीन वटा नाकाको पनि हालत खराब नै छ । टोखा, ककनी र गल्छीको बाटो पनि दयनीय अवस्थामा छ ।
चावहिल–जोरपाटीको सकड पनि दयनीय छ । त्यस क्षेत्रका स्थानीयले पटक–पटक सडक मर्मत–सम्भार तथा पिच गर्न माग गर्दै सडकमा उत्रिएर आन्दोलन गर्दै आएका छन् ।
ठेकेदारको लापरवाही र सरकारी निकायको सक्रियता नहुनाले उपत्यका र उपत्यका बाहिरका सडकको अवस्था दयनीय बन्न पुगेको हो ।