अमेरिकामा जनमत साहित्यिक पत्रिकाको नर्थ क्यारोलाइना विशेषांक विमोचित

कला/साहित्य मुख्य खबर समाचार

अमेरिका, नर्थ क्यरोलाईना राज्यको विन्स्टन सेलम सहरमा भएको NASeA/ANMA को १५औं सम्मेलनका अवसरमा आयोजित एक बृहद साहित्यिक कार्यक्रमका वीच नेपालबाट साहित्यिक पत्रकार मोहन दुवालको सम्पादकत्वमा प्रकाशित जनमत साहित्यिक पत्रिकाको नर्थ क्यारोलाइना विशेषांकको विमोचन गरियो ।

वरिष्ठ साहित्यकार संस्कृतिविद तुलसी दिवस, अन्तर्राष्ट्रिय साहित्य समाजका पुर्व केन्द्रिय अध्यक्ष तथा वर्तमान वोर्ड अफ ट्रष्टी पदम विश्वकर्मा तथा नर्थ क्यारोलाइना साहित्य समाजका अध्यक्ष शिखर दुलालले जनमत नर्थ क्यारोलाइना विशेषांकको संयुक्त रुपमा विमोचन गर्नुभएको हो । जनमत नर्थ क्यारोलाइना विशेषांकका अतिथि सम्पादक डा ऋषि बस्ताकोटीले यस विशेषांकमा नर्थ क्यारोलाइना निवासी चालिस श्रष्टाका विविध साहित्यिक सामाग्रीका साथै नर्थ क्यारोलाइनामा नेपाली साहित्य सम्बन्धि एक खोजमूलक लेख पनि समेटिएको जानकारी दिनुभएको थियो ।

नर्थ क्यारोलाइना साहित्य समाजका अध्यक्ष शिखर दुलालले जनमत प्रकाशन संग सहकार्यमा यो एइतिहासिक कार्य गर्न पाएकोमा प्रधान सम्पादक मोहन दुवाल र जनमत परिवारप्रति कृतज्ञता व्यक्त गर्नुभयो । कार्यक्रममा नर्थ क्यारोलाइना साहित्य समाजकाका पुर्व अध्यक्ष मनोज प्रधानलाइ उहाँले नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको संस्थागत विकास र सम्बन्ध विस्तारमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान पत्र अर्पण गरिएको थियो।

अन्तरास्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाईना च्याप्टर/ नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालको अध्यक्षता र वरिष्ट साहित्यकार तुलसी दिवसको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा वाल तथा वयस्क कविता प्रतियोगिता, अप्रतियोगी कविता वाचन, नेपाली लेखन सम्बन्धी प्रशिक्षण र गन्धर्व जातिको संस्कृति सम्बन्धी प्रस्तुति समेत गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरू शैलेन्द्र साकार, ज्ञानेन्द्र गदाल, सीता पाण्डे, पदम विश्वकर्मा, बलराम पन्थी, सुजाता ढुंगेल, निर्मला राजभण्डारी, सन्ध्या जोशी कृष्ण पौडेल लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो भने गायक बसन्त खड्काले आफ्नै संगीत र ऋषि बस्ताकोटीको रचनामा एउटा गजल गाउनुभएको थियो ।

सस्थाकी वरिष्ठ उपाध्यक्ष नम्रता आचार्यद्वारा संचालित कार्यक्रममा कोषाध्यक्ष सुजाता ढुंगेलले अन्तरास्ट्रिय नेपाली समाजका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीको शुभकामना संदेश पढेर सुनाउनुभएको थियो।कार्यक्रममा साहित्यकार नीलम कार्की निहारिका, डा बुना दाहाल पोखरेल, डा शिव गौतम, भारती गौतम, नगेन्द्र न्यौपाने, इश्वर देवकोटा, नारायण राजभण्डारी, राधा पौडेल, स्थानीय संघ संस्थाका प्रतिनिधिहरू र साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति थियो ।