डोनाल्ड ट्रम्प द्वारा तालिवान सँगको शान्ति प्रक्रिया रद्ध गरिएको घोषणा

राजनीति समाचार

वाशिङटन । अमेरिकी राष्ट्र पति डोनाल्ड ट्रम्पले अफगानिस्तानको तालिवान समूह सँगको शान्ति प्रक्रिया रद्ध गरिएको घोषणा गरेका छन् ।

उनले शनिबार (नेपाली समय अनुसार गएराति) चरण वद्ध रुपमा ट्विट गर्दै आज आइतबार क्याम्प डेभिड (मेरिल्याण्डमा रहेको अमेरिकी राष्ट्र पतिको रिट्रिटस्थल)मा तालिवानका वरिष्ठ नेतालाई भेट्ने कार्यक्रम तय भएकोमा काबुलमा तालिवानको आक्रमणबाट एकजना अमेरिकी सैनिकको मृत्यु भएका कारण सो भेटघाट पनि रद्ध गरिएको जनाएका छन् ।

यस अघि अमेरिकी संझौताकार जाल्मे खालीजादले सैद्धान्तिक रुपमा शान्ति प्रक्रिया सहमतिको नजिक पुगेको जनाएका थिए ।

प्रस्तावित शान्ति सम्झौताअनुसार २० हप्ता सम्ममा ५ हजार ४०० अमेरिकी सेना अफगानिस्तान बाट फिर्ता गरिने जनाइएको बताइएको थियो । तर, सहमतिलाई अन्तिम रुप दिनका लागि राष्ट्रपति ट्रम्पबाट अनुमति लिन बाँकी रहेको संझौताकारले जनाएका थिए ।

गएको बिहीबार काबुलमा भएको बम बिस्फोटमा एक अमेरिकी सैनिक सहित करिब एक दर्जन मानिसको मृत्यु भएको थियो । बिहीबारको आक्रमणले अमेरिका सँगको सहमतिका बावजुद अफगानिस्तानमा हिंसा नरोकिने डर उत्पन्न भएको थियो ।

अमेरिकाले सन् २००१मा अफगानिस्तानमा हस्तक्षेप गरेपछि सबैभन्दा बढी भूभागमा अहिले तालिवानको नियन्त्रण रहेको छ ।

सो समूहले अहिलेको अफगान सरकारलाई अमेरिकी ‘पपेट’ भनेर उसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । अमेरिका र तालिवान  बीच अफगान सरकारको सहभागिता बिना नै गएको सन् २०१८ देखि शान्ति प्रक्रिया चलिरहेकोे थियो । यस क्रममा दुई पक्षबीच कतारको दोहामा ८ चरण सम्मका वार्ता भएका थिए ।
हाल अफगानिस्तानमा १४ हजार अमेरिकी सेना र नेटो समर्थित ३९ राष्ट्रका १७ हजार सेना रहँदै आएका छन् । वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र सहमति नजिक पुगेको दुवै पक्षले हालै बताएका थिए ।

(बीबीसी तथा अन्य एजेन्सी)