घट्दो क्रममा तरकारीको मूल्य,चाड पर्वमा पनि नबढ्ने
लामो समय सम्म बढिरहेको तरकारीको मूल्य अहिले भने घट्न थालेको छ । कहिले विषादी परीक्षण त कहिले बाढी पहिरोका कारण तरकारीको भाउ अकासिएको थियो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार पछिल्लो समय भने तरकारीको मूल्य घट्दो क्रममा छ । अघिल्लो दिन (बुधबार) को तुलनामा बिहीबार पनि तरकारीको थोक मूल्य घटेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका बजार व्यवस्थापन अधिकृत मनोज धितालले प्राकृतिक प्रकोपका कारण केही समय तयारी आयात नै कम भएर मूल्य बढेको बताए । केही दिनयता भने मागअनुरुप नै तरकारी आयात भएकाले क्रमशः तरकारीको मूल्य घट्ने क्रममा रहेको उनको भनाइ छ ।
आउनै लागेका चाड पर्वमा पनि तरकारीको मूल्य नबढ्ने धितालको दाबी छ । “चाडपर्वमा तरकारीभन्दा बढी माछामासुको खपत बढी हुन्छ । त्यसकारण तरकारी आयात कम नै भए पनि चाड पर्वमा मूल्य बढ्दैन । अहिले अकासिएका अधिकांश तरकारीको मूल्य सोह्र श्राद्ध सुरु भएपछि घट्छ,” उनले भने । कालिमाटी तरकारी बजारमा भारत तथा नेपालका विभिन्न जिल्लाबाट दैनिक करिब ८ सय टन तरकारी आयात हुने गरेको छ ।