दिलकुमारी स्मृति पुरस्कार संस्कृतिविद डा. भक्त राईलाई : को हुन डा. भक्त राई ?

Breaking News कला/साहित्य

-दिलक्रान्ती राई

काठमाडौ- यो साता निकै तातोतातो रुपमा न्युज बनेको थियो ।  दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार कोषले संस्कृतिविद् डा. भक्त राई र चाम्लिङ भाषाको मासिक साहित्यिक पत्रिका ‘सितिमी’लाई ‘दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार’ प्रदान गरिएको छ । भाषा–साहित्य तथा संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत सो पुरस्कार प्रदान गर्न लागिएको पुरस्कार कोषका संस्थापक सदस्य गीतकार टीका चाम्लिङले जानकारी गराए ।

पुरस्कार गीतकार चाम्लिङ र उनकी दिदी सरिता चाम्लिङ नाना लगायतका परिवारको सक्रियतामा संस्स्थापना गरिएको हो । पुरस्कारको राशि जनही नगद २५ हजार र प्रमाणपत्र रहेको छ । प्रत्येक वर्ष प्रदान गरिने उद्देश्य रहेको पुरस्कार यसपाली २०७५ र २०७६ गरी दुई वर्षको एकैचोटि दिन लागिएको हो । चाम्लिङका अनुसार पुरस्कार दिलकुमारीको जन्मदिनको अवसर पारेर भदौ १२ गते काठमाडौँमा एक समारोहबिच प्रदान गरिने कार्यक्रम रहेको छ ।

साकेवा सिलीको नेतृत्व गर्ने ‘सिलीमोमा’ दिलकुमारीको जन्म खोटाङको दिक्तेल-रूपाकोट-मझुवागढी-१३, नुनथलामा वि.सं. २००१ साल भदौ १२ गते भएको थियो । २०७० साल साउन १९ गते निधन भएको थियो । उनको स्मृतिलाई अमर बनाउने संस्थापान गरिएको पुरस्कार कोषको संरक्षकमा दिलकुमारीका पति रोजबहादुर चाम्लिङ राई र संस्थापकमा छोराछोरी कवि तथा गीतकार सरिता चाम्लिङ ‘नाना’, गीतकार टीका चाम्लिङ, नवीन चाम्लिङ, रन्जना चाम्लिङ र सन्जीव चाम्लिङ रहेका छन् ।

डा.भक्त राई को हुन ?

संस्कृतिविद् डा.भक्त राई भोजपुर जिल्ला तत्कालीन भैसीपङखा गा.वि.स.वार्ड न.-३ ढुङ्ग्रेवाँस हालको भोजपुर नगरपालिका-१० मा २०२९/११/१५ मा जन्मिएका हुन् । लोकसाहित्यअन्तर्गत किरात राई लोकगीत विषयमा विद्ध्यावारिधि गरेका डा. राई विगत एक दशकदेखि संस्कृति र दर्शन क्षेत्रमा कृयाशील ब्यक्तित्त्व हुन् ।

नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रका अध्यक्ष डा. राई २०७४ साल देखि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिकको नागरिक उड्डयन मन्त्रालयमा संस्कृति विज्ञका रूपमा कार्यरत छन् । संस्कृतिविद् राईले भाषा, साहित्य, संस्कृति र दर्शन विषयका दर्जनौ पुस्तक प्रकाशन गरिसकेका छन् ।

उनको “पूर्वीय दर्शन” नामक ग्रन्थ एउटै ग्रन्थमा १४ ओटा दर्शनको समीक्षा गरेर नेपाली भाषामा लेखिएको दक्षिण एसियाकै पहिलो ग्रन्थ मानिन्छ जुन ग्रन्थ छ महिनामै २२०० प्रति बिक्री भइ रेकर्ड समेत राखेको थियो । संस्कृतिविद् डा.भक्त राई नेपाली संस्कृतिको अध्ययन अनुसन्धान गर्न नेपालका विभिन्न भूभाग पुगी विभिन्न जाति, वर्ग र समुदायको मूर्त तथा अमूर्त संस्कृतिको अध्ययन, अनुसन्धान तथा अभिलेखीकरणमा अहोरात्र खटिरहेका छन ।