चाम्लिङ भाषामा ‘छौवा’ गीत रेकर्ड
चाम्लिङ राई भाषाको ‘साम्खा’पछि ‘छौवा’ शीर्षकको गीत पनि रेकर्ड भएको छ ।
रोदुङ किरातीको रचना रहेको यस गीतमा सुस्मिता राईको स्वर रहेको छ भने सङ्गीत तथा एरेन्ज दिपेश राईले गरेका छन् ।
सितिमी फिल्म्स प्रा.लि.ले यस अघि नै जीवनजित राईको रचना रहेको ‘साम्खा’ शीर्षकको गीत बजारमा ल्याइसकेको छ । त्यसमा क्रमश: रश्मी राई र सुमन राईको स्वर-सङ्गीत रहेको छ ।
साम्खा अर्थात हुइलुङ पूजा उभौली (धिरिनाम)मा गरिन्छ । छौवा उधौली (छिरिनाम)मा गरिन्छ । आजभोलि छौवाको समय । किराती गाउँहरुमा नयाँ अन्नबाली पुर्खाहरुको नाममा चढाउने चाड । यहि समयमा सितिमी फिल्म्स प्रा.लि.ले ‘छौवा’ शीर्षकको गीत रेकर्ड गरेको हो । किराती संस्कारमा आधारीत यस गीतको म्युजिक भिडियो पनि छिटै रिलिज हुने प्रकाशकले बताएको छ ।
सङ्गीतकार दिपेश राईको यसअघि सोलो सङ्गीत रहेको ‘साम्दुङ’ एल्बम बजारमा आइसकेको छ ।
छौवा नगरी साम्खा गर्नुहुन्न
‘साम्खा अन्नबाली लगाउने बेला गरिन्छ । राम्रो अन्नबाली फलोस् भनेर यो पूजा गरिन्छ । छौवा चाहिँ अन्नबाली पाकेपछि गरिन्छ । पाकेको अन्नबाली कुलपित्रलाई चढाएर मात्र हामी खान्छौं ।’ हलेसी तुवाचुङ नगरपालिका ५, खोटाङका दाइन्द्र राई भन्छन्, ‘यदि कारणबस साम्खा गर्न भ्याइएन भने छौवा गर्ने बेलामा पनि साम्खा गर्ने चलन छ । त्यति बेला पनि साम्खा गरेपछि मात्र छौवा गर्नुपर्छ ।’