‘हुटिट्याउले थामेको सगर’-भाई किराती
भाई किराती
ढाँट्या छैन सत्ते
नाचेकै हो बेसाराहरु
अडिएरै हावै हावामा
हेरी हेरी जोखाना
गरेकै हो शिकार छानीछानी
र हुर्काएकै हो वर्षेउनी
उसको दरिद्र चिङ्नाहरु !
घडी, पला आयुको
आकाशीय पिण्डको क्षणिक ओझेल
शताब्दीयौँ लम्बिएको देशमा
भिडाइयो रतन्धोको बिल्ला दिनदहाडै
र कहलाइयो लाटो देश जबर्जस्ति
अनि थमाइएको
स्व:घोषित गँडाहा तन्नेरीको उपाधी
थामीराछन हुटिट्याउँले सगर
उझिण्डो परेर दुई खुट्टीले
सायद सुल्टो उभिएर टेक्दा जमिनमा
घोच्छ काडाले !
अनि तालु पिल्सिन्छ बिचराहरुको !!
टेकेर म प्रकृतिको वैशाखी
गरेर सम्झौता उसैसँग
लिएर भाडामा केही वर्षलाई
उसकै एकमुठी स्वास-प्रस्वासको थैली
अनि उभिएर उसैको बाछ्यस्थलमा
एकाग्र भैइ
नियाली रहेछु
चेतको दुरदर्शी यन्त्रले
अनि समातेर कठालोमा त्यसलाई
उभाउदैछु दुनिया सामु
विज्ञान र प्रविधिको कठघरामा
कि कसरी थामेछ हुटिट्याउले सगर
र नाप्दैछु तन्काएर फित्ता गीदिको
कत्ति छ त्यसको आस्तिक गहिराई ?
ठड्याएर महल गगनचुम्बी तासको
धमिलाएर मुहान देखि चुहान सम्मै
भ्रमको खेती गर्ने महामहिमहरु
हेर्दा सुन्दर भलाद्मी वा समृद्ध अथवा
बत्तीसै लक्षणले हराभरा
तर साह्रै डराउछन !
डराउछन अचाक्ली नै
यथार्थताको झुप्रोहरुसँग
किनभने त्यहीँ छ नैतिकताको जिलो
तर रुचाउदैनन तिनीहरू
नैतिकवानहरुसँगको संगत !
फेरि ब्यापार त गर्नु नै छ नैतिकताको
भरिन्न नत्र उसको खल्ती
अनि पुग्छन् हारगुहार माग्न
उपल्लो सहरको महान प्रभुहरुसँग
र नासोको रुपमा
भरिदिन्छन आइएनजिओ नामक प्राण
किन कि
नैतिकताको सौदागरहरुले पेटपाला गर्ने
वास्तविक बजार त्यही हो
र त्यही हो तिनीहरूको महान स्वर्ग
अनि त
पुगेन गाउँ गाउँमा सिंहदरबार !