भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पुगे भुटान, भुटानले सधै भारतलाई साथ दिने प्रतिबद्दता

थिम्पु । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि शनिबार भुटानको थिम्पु पुगेका छन् । उनलाई भुटानका प्रधानमन्त्री लोटे छिरिङले बिमानस्थलमै गएर स्वागत गरेका थिए । दुई देशका अधिकारीहरुले दुवै प्रधानमन्त्रीको उपस्थितिमा जलश्रोत, अन्तरिक्ष सहयोग, सूचना प्रविधि लगायतका १० विषयमा समझदारी पत्रमा हस्ताक्षर गरेको पीटीआईले जनाएको छ ।
सो अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोदीले भुटानलाई महत्व दिएर नै आफूले पहिलो कार्यकालमा पहिलो विदेश भ्रमण भुटानबाट गरेको जनाउँदै अहिले पनि दोस्रो कार्यकालको शुरुमै भुटान भ्रमण गरेको जनाएका थिए ।
सो अवसरमा भुटानका प्रधानमन्त्री छिरिङले भुटानले सधै भारतलाई साथ दिने बताएका थिए । भुटानको सरकारी मुखपत्र क्युन्सेल अनलाइनले जनाए अनुसार सो अवसरमा भुटानी प्रधानमन्त्रीले भारतलाई क्षेत्रीय र विश्वव्यापी मामिलामा नेतृत्वदायी भूमिकाका लागि भुटानको सहयोग हुने जनाएका थिए । मोदीले शनिबार नै १० हजार मेगावाट क्षमताको माङदेचु जलविद्युत आयोजनाको समेत उद्घाटन गरेका थिए ।
भारतीय सहयोगमा बनेको सो आयोजनाले सन् २०२० देखि नियमित रुपमा विद्युत उत्पादन गर्ने जनाइएको छ । मोदीले शनिबार नै भुटानका राजा जिग्मे खेसर वाङचुकसँग समेत भेटेका थिए । गएको जुन महिनामा भारतका विदेशमन्त्री एस जयशंकरले भुटान भ्रमण गरेकोमा अहिले प्रधानमन्त्री मोदीले भ्रमण गरेका हुन् । (एजेन्सी)