फेरी पनि अरुणखोलाको डाइभर्सन पानीले भत्काउदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

समाचार

पूर्व–पश्चिम राजमार्गको अरुणखोला बजारको डाइभर्सन पानीले भत्काएपछि सवारी आवागमन फेरि अवरुद्ध बनेको छ ।

अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँचिएपछि डाइभर्सन बनाएर बिहीबार साँझबाट सवारी पास गराइएको थियो । तर, डाइभर्सन सञ्चालनमा आएको केही समयमा नै पानीले क्षति पुर्‍याएपछि पुनः यातायात अवरुद्ध हुन पुगेको हाे ।

अरुणखोला प्रहरीका अनुसार डाइभर्सनबाट सवारी पास हुन नसकेपछि अरुणखोलाबाट पूर्व–पश्चिम दुवैतर्फ ४/५ किलोमिटर लामो जाम लागेको छ । दुवैतर्फ सवारी रोकिएपछि सयौं सवारी तथा त्यसमा सवार यात्रुहरू समस्यामा परेका छन् ।

बाटो अवरुद्ध भएको दुवैतर्फ ७/८ किलोमिटर लामो जंगल भएको र जंगलमा रोकिँदा खानेपानीसमेत नपाएको गुनासो यात्रुहरूले गरेका छन् ।

कतिपय यात्रुहरुले आफूहरु २४ घण्टादेखि बाटोमा अलपत्र परेको गुनासो गरेका छन् ।