कमेडी किङ गणेश ईशाराको दमदार एकल शो काठमाडौंमा
काठमाडौं । केही नेपाली कलाकारहरु आफ्नो लागि मात्र बाँच्दैनन् । अरुलाई बचाउन आफ्नो कला बेच्छन र आफूपनि बाँच्छन् । हाँस्यकलाकार गणेश इशारा यस्ता कलाकार हुन जो अरुलाई बचाउन दौडिरहेका छन् ।
उनको नाम खासै चल्तीको होइन । प्रस्तुतीका लागि उनलाई कुनै धपेडी पनि छैन । तर स्टेजमा पुगेपछि विभिन्न बहानामा दर्शक हसाँउने उनको विचित्रको क्षमता छ । त्यही क्षमता देखाएर उनी यतिबेला गरिब र असहायहरुका लागि एकल प्रस्तुती लिएर दौडिरहेका छन् । सहयोग जुटाइरहेका छन् ।
केही साता अघि मात्र धरान, उदयपुर र भोजपुरमा एकल प्रस्तुति दिएर समाजसेवी वीरमाया राई (सोभोमा) अक्षयकोष निर्माणका लागि खटिएका उनले केही दिन अघि काठमाडौंमा बेजोडको प्रस्तुति दिए । रोविनेश कम्पनीको प्रायोजन गरेको कार्यक्रममा उनको प्रस्तुति हेर्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि पुगे ।
सोही अवसरमा कोरियामा संकलित सोनाम पेल्मू तामाङले ७० हजार रुपैंयाँ ईशाराको अभियानलाई हस्तान्तरण गरे । उक्त रकम टिचिङ अस्पतालमा उपचार गरिरहेका लगन गोलेलाई प्रदान गर्ने उनको सोच छ ।
हास्यब्यंग्य प्रस्तुतीमार्फत सामाजिक कार्यमा सक्रिय इशाराले वीरमाया राई (सोभोमा) अक्षयकोषमार्फत अनाथ तथा असाहय बालबालिकाको शिक्षाका लागि एकल कमेडी सो सुरु गरेका हुन् । धरान, उदयपुर, भोजपुर र काठमाडौंपछि पोखरा, बुटवललगायत देशका विभिन्न शहरमा उनको कार्यक्रम हुँदैछ ।
२०७१ सालमा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा उनको पहिलो एकल शो आयोजना भएको थियो । देश विदेशका दर्जनौं स्टेजमा आफ्नो प्रस्तुती दिइसकेका उनी नेपालका मुगु र रोल्पाबाहेक सबै जिल्लामा कार्यक्रमका शिलशिलामा पुगीसकेका छन् ।
गाइजात्रे एल्बम ‘दुर्गती’मा शेरबहादुर देउवा र माधबकुमार नेपालको क्यारिकेचर गरेर ख्याती कमाएका उनका ‘साँढेतन्त्र’, ‘सदन हल र भट्टी पसल उस्तै’, ‘भद्रगोल डटकम’जस्ता गाइजात्रे एल्बम श्रोतादर्शकमाझ आइसकेका छन् ।
वि.स. २०५३ सालमा भोजपुरबाट राजधानी भित्रिएपछि हास्य कलाकाकारितामा लागेका उनले करिब डेढ दर्जन म्यूजिक भिडियो निर्देशन पनि गरेका छन् ।
समाजसेवामा रुची राख्ने इशाराले यसअघि खोटाङका मृगौला रोगी हस्तबहादुर तामाङ, भोजपुरकी सिर्जना राई, दोलखाकी कौशिका ठकुरी, झापाकी ललिता चाम्लिङ, भोजपुरका राजेन्द्र राईको मृगौला उपचारका लागि प्रहसनमार्फत आर्थिक सहयोग जुटाइसकेका छन् । इशाराको प्रहसन, चुटकिला तथा हांस्यव्यंग्य शैलीमा भाषण गर्ने कला, क्यारिकेचर दर्शकले बढी रुचाउने गरेका छन् ।