झल्लाराज कबिता- बलराम तिमिल्सिना
विपिको प्रजातान्त्रिक समाजवादमा
मार्चा मोलेर उदारवादको
तनतनी पिइरहेछ काङ्ग्रेस
विपि ब्राण्डको निगार !
काङ्ग्रेसहरू भन्छन्-
‘खुव तेजिलो छ यो पुरानो निगार !’
पुष्पलालको नयाँ जनवादलाई
केके मार्टमा बेचेर
सेक्स टोय किन्दैछन् अर्का थरी
पिएल ब्राण्डको सेक्स टोय !
खुव रोमाञ्चक हुन्छ भन्छन्
सरकारी कम्युनिष्टहरू !
गजेन्द्र नारायणको मधेशी आत्मालाई
मोलमोलाई गरेर पहाडी सत्तासँग
सत्ताको जूठो किन्दैछन्
मधेश -महन्तहरू !
भन्छन् –
‘सत्ता के स्वाद बड करगर होइछै !’
गोरे बहादुरको सग्लो चित्रलाई
टुक्रा टुक्रामा वाँडेर
समानुपातिकको झोला
बाटैमा हराएर कतै
आरक्षणको अंश माग्दैछन् जनजाति !
भन्दैछन्-
आरक्षण पाइयो भने पनि तैविसेक !
राजतन्त्रको कुहेको पातमा
हिन्दू धर्मको चरेस बेह्रेर
सुल्पा तानिरहेछ राप्रपा !
भन्छ-
गणतन्त्रको मन्त्री पद पनि
हिजो जस्तै रवाफिलो हुने रहेछ !
राजनीतिलाई झल्ला बनाए पछि
झल्लाहरूले यसरी
इमान्दारहरूलाई गाह्रो परेको छ
राजनीतिमा टिक्न !
आज
झल्ला र झोलेहरूले चलाइरहेझन् देश
तपाई जता जानोस
ठोक्किन पुग्नु हुने छ
झल्ला र झोलेहरूसँग !
झल्लाहरूले छोएपछि
आदर्शले आत्महत्या गर्छ
निष्ठा नग्न हुन्छ
इमान्दारिता अलप हुन्छ
पारदर्शिता पतित बन्न पुग्छ
त्याग त्याज्य बन्छ
वलिदानले वुर्कुसी मार्छ
र जन्मन्छ –
एउटा झल्ला राज
आज हामी छौं
त्यही झल्ला राजमा !
भन्नको लागि झल्लाहरू
यसैलाई रामराज भन्छन् !
२०७६|०४|२०
भक्तपुर