चीनमा टाइफुन लेकिमाका कारण २२ जनाको मृत्यु हुनुका साथै १० औं लाख मानिस विस्थापित

बेइजिङ । चीनमा टाइफुन लेकिमाका कारण २२ जनाको मृत्यु हुनुका साथै १० औं लाख मानिस विस्थापित भएको सरकारी सञ्चार माध्यमले जनाएका छन् । अधिकारीहरुका अनुसार टाइफुनपछि आएको पहिरोबाट मानिसको मृत्यु भएको हो । लेकिमाका कारण शनिबार विहानैदेखि चीनको आर्थिक राजधानी संघाई र ताइवानको बीचमा पर्ने वेनलिङमा भारी वर्षा भएको थियो । सो आँधीलाई शुरुमा ‘सुपर टाइफुन’ नामाकरण गरिएकोमा पछि यसलाई केही कमजोर हुने ठानिएको थियो ।
मानिसको ज्यान लिनेगरी पहिरो वेन्झाउमा गएको हो । झेन्जियाङबाट उत्तरतर्फ लागेको लेकिमाले २ करोड जनसंख्या भएको संघाईलाई प्रहार गर्ने अनुमान गरिएको थियो । आपतकालीन उद्धारकहरुले बाढीका कारण सडकमा अलपत्र यात्रु तथा क्षतिग्रस्त घरमा अलपत्र परेका मानिसको उद्धार गरेका थिए । ढलेका रुख र विद्युत अवरोध जताततै पाइएको छ ।
अधिकारीहरुले १ हजार भन्दा बढी उडान र रेल सेवा रद्ध गरेका थिए ।संघाइ डिस्नील्याण्ड समेत बन्द गरिएको छ ।संघाई पुग्ने बेला सम्ममा यो टाइफुन निकै कमजोर भइसकेको थियो । यद्यपि अझैपनि डरलाग्दो बाढीको भने खतरा रहेको जनाइएको छ । क्षतिग्रस्त क्षेत्र मुख्य रुपमा शहरोन्मुख भूभाग भएको निङ्बो सिटी फायर सर्भिसका उद्धार दल प्रमुख फु सङलियाङले बताएका छन् ।
संघाईबाट २५ लाख मानिसलाई सुरक्षित स्थानमा लगिएको थियो । झेन्जियाङ प्रान्तका ८ लाख मानिसलाईपनि अन्यत्र सारिएको थियो । आँधीका कारण करिब २७ लाख घर बत्तीविहीन भएका छन् । सिन्हवा समाचार समितिका अनुसार यो वर्ष आएको यो ९औं टाइफुन हो । यद्यपि वर्षौंदेखि देखिएभन्दा यो बढी शक्तिशाली थियो । पहिला यसलाई सबैभन्दा उच्च स्तरको खतराको सूचीमा राखिएकोमा पछि यसलाई एक तह घटाएर ‘ओरेन्ज’ तहको भनिएको थियो । (बीबीसी)