नेपाली समाजमा जातीय बिभाजनको मोडेल
-भाई किराती
नेपाली समाजमा जात/जाति बिभाजनको विषय प्रति केही अनावश्यक चर्चाहरु सुनिन्छ । कुनै जाति बिभाजन हुनु वा कुनै भाषिक समुदाय नयाँ जातिको रुपमा अस्तित्वमा आउनु भनेको, एउटा जाति भित्रको थरीहरु बिभाजन हुनु वा थरी भित्रबाट पाछा बिभाजन हुनु, तथा पाछा भित्रबाट लहरी भाइ छुट्टिनु जस्तो सजिलो विषय होइन । जुन विषय हजारौं गुणा चुनौतीपूर्ण छ । तर नेपालको हकमा भने नयाँ जातिको रुपमा प्रपञ्च खडा हुनु कुनै नौलो विषय भने होइन । र यसको कुनै नौलो अर्थ वा त्यस्को उद्देश्य भिन्न हुन पनि सक्दैन । यद्यपि जात/जाति बारे सारत: उ सभ्यता सहितको जाति हो कि, सभ्यता बिनाको जाति हो ? भन्ने प्रश्न मुख्य हो । आदिम मानवको पुर्खाले कडा परिश्रमद्वारा क्रान्ति गरे र सभ्यताको निर्माण गरे । तसर्थ मानवको अस्तित्व कायम छ । जसले सभ्यता निर्माण गर्न सकेनन् उनीहरू समाप्त भए । यो कुरा क्रम बिकासको सिद्धान्तको अध्ययन गर्दा बोध हुन्छ । सभ्यता सहितको जाति, टाढा टाढा सम्म जरा फैलिएको अग्राखको रुख हो जो हजारौं मात्र होइन लाखौं वर्ष सम्म पनि मकिँदैन । भने सभ्यता बिनाको जाति भनेको धार्मिक सत्ताको प्रोपोगन्डा मात्र हो, यो मरणशील छ । अर्थात सभ्यता बिनाको जाति भनेको हावा भरेको भकुण्डो जस्तो हो । जसलाई खुट्टा, टाउको, हात जेले जसरी पनि प्रहार गरि खेलाउने गरिन्छ ।
नेपालमा कुनै खास जातिको प्रादुर्भाव, सभ्यताको आधारमा र वर्ण व्यवस्थाको आधारमा गरि दुई किसिमले भएका छन । सभ्यता भनेको प्राचीन मानव समाजको महत्त्वपूर्ण ऐतिहासिक घटना हो । जुन युगको सामाजिक परिवेशको आधिकारिक दस्तावेज हो, जो शदियौँ सम्म जिवित रहन्छ । जुन घटनाको कारण जंगली युगका आदिम मानव, दास युगहुँदै सभ्यताको युग, सामन्तवादी युग पार गरेर आधुनिक युगमा आइपुगिएको कुरा अध्ययनद्वारा बोध गर्न सकिन्छ । जो दार्शनिक दृष्टिकोणले मानव समाजको महान क्रान्ति हो । भने सभ्यता बिनाको जाति चाहिँ धार्मिक उछृङ्खलता बाहेक अरु केही होइन ।
२१औं शताब्दीको उत्तरार्ध र २२औं शताब्दीको आगमन बीचको युगमा सभ्यताको आधारमा नयाँ जाति बन्नु किमार्थ सक्दैन । किनभने यसको निम्ति नयाँ नै सभ्यताको परिकल्पना आवश्यक छ । त्यसैले नेपालमा सभ्यताको आधारमा नयाँ जाति बन्ने कुरा असम्भव छ । तर नयाँ जाति बन्नको लागि विकल्प नै छैन भन्ने चाहिँ होइन । नयाँ जाति बन्न इच्छुक जत्तिले हिन्दु वर्ण व्यवस्थाको नियमलाई मुल आधार बनाई स्वघोषित नयाँ जाति बन्न चाहिँ कुनै किसिमको वाधा अड्चन रहित विकल्प हो । जुन बिधि अनुसार नयाँ जाति बन्नलाई कुनै सभ्यताको आवश्यकता पर्दैन खाली हिन्दु धर्मको अन्धभक्त भइ हिन्दु वर्ण व्यवस्थाको अनुकरण गरे पुग्छ । नेपालमा यो विषय शासकको धार्मिक रणनीतिमा पनि निर्भर रहन्छ । केही बाहेक सबैजसो नेपाली समाजको जातीय बिभाजन हिन्दु वर्ण व्यवस्थामा आधारित छ । वर्ण व्यवस्थाको नियम :- आ-आफ्नो अस्तित्वमा रहेको सभ्यता सहितको जातिलाई बीचमा घुसपैठ गरि बिभक्त गरिदिने हो । अर्थात यसले अरुको सिङ्गो सभ्यता र पहिचानलाई स्वीकार्दैन । वा एउटै सभ्यताको समुदाय विभिन्न जाति-जातिमा बिभाजन हुनुमा उ जिवित रहन्छ ।
नेपालमा एउटै सभ्यता र पहिचानको किराती समाजलाई वल्लो किरात, माझ किरात र पल्लो किरात भनी पृथ्वीनारायण शाहले कार्यनीतिक अनुकुलनमा बिभाजन गरिदिए । उनले एउटै सभ्यतालाई तीन भागमा बिभाजन गरे किन र के कारणले ? सवाल गम्भीर छ । त्यो उनमा त्यत्तिकै आएको चेतना भने थिएन । यसको ऐतिहासिक आधारहरु छन । उनले, किराती समाजको सत्ता, तीन चुलाको जगमा स्थापित दर्शन हो भन्ने कुरा बुझे र तीन भागमा साङ्केतिक बिभाजन गरे । जसको कारण उ किरात भूमि कब्जा गर्न सफल भए । त्यत्ति मात्र होइन, हिन्दु धार्मिक वर्ण व्यवस्थालाई इमानदार ढंगले लागू गरे । वर्ण व्यवस्थाको ऐतिहासिक कारणहरुको अध्ययन गर्दा हामी यो पाउछौँ कि वर्ण व्यवस्थाले अभ्यास गरेको जात बिभाजनको पहिलो नमुना आर्य समुदाय नै हो । ब्राह्मण, क्षेत्री, वैश्य र सूद्र मध्ये ब्राह्मण, क्षेत्री र सुद्र चाहिँ आर्य सभ्यताका मानव हुन । जस मध्ये ब्राह्मणले क्षेत्री र सूद्रलाई सभ्यता बिनाको जाति बनाउने ठुलो षड्यन्त्र गरेको देखिन्छ । अझ सूद्रलाई त पूर्ण रुपले सभ्यता बिनाको अछुत नै बनाइदिए । अहिले आएर उनीहरूले हामी फरक फरक जातका हौँ भन्ने गरेता पनि उनीहरुको सभ्यता सिन्धु, पहिचान आर्य, धर्म हिन्दु, भाषा संस्कृत वा कुनै फरक भए तापनि वेद एउटै छ । यही हो वर्ण व्यवस्थाको वास्तविक सार । यस विषयको रहस्य उद्घाटन गर्दा एउटै सभ्यता, एउटै पहिचान, एउटै भाषा, एउटै धर्म, एउटै वेद भए पनि उ छुट्टै जाति हो भन्ने भ्रम सृजना गरिएको कुरा सत्य साबित हुन्छ ।
आशकुमार राईको दाबी छ कि – जाँडरक्सीको खास भूमिका मानव जीवनमा एन्टिबायोटिकको मात्रा पूरा गर्ने हो । र यो रसायन विज्ञानको सबैभन्दा पहिलो experiment हो । यो मानव समाजको ऐतिहासिक experiment हो । जुन experiment किराती पुर्खाले, खाली रक्सीको आविस्कार गर्नलाई मात्रै थिएन । कि प्राकृतिक जगतको संरचना र जाँडको उच्चतम बिकास बारे गरिएको experiment हो ।
जहाँ सम्म छ किराती समाज भित्र भाषिक आधारमा सूचीकरण भइसकेका र हुन पाउँनु पर्छ भन्ने सवाल । सूचीकरण प्रक्रिया अन्ततः जाति बिभाजनको पहिलो चरण हो भन्ने कुरा हामीले हेक्का राख्नु जरुरी छ । जुन बेला हिन्दु वर्णाश्रम व्यवस्थाले श्रमको आधारमा जात बिभाजन गर्यो । तर अहिलेको परिवेशमा न त सभ्यताको आधारमा नयाँ जाति बन्नु सम्भव छ, न श्रमको आधारमा नै । यसर्थ सचेत बन्दै गरेको किराती समाजलाई सूचीकरण नामक गिलोटीनद्वारा टुक्राटुक्रा पार्ने, अझै किराती सभ्यता सहितको मुन्धुमलाई छेदन गर्ने हिन्दु धार्मिक सत्ताको नियोजित कदम हो भनेर बुझ्नलाई कुनै विलम्ब नगरौं ।
राजनीति कर्मी एवं सङ्गीतकार आशकुमार राई भन्नुहुन्छ :- किराती philosophy, अर्थात मुन्धुम, general experiment बाट निर्माण भएको होइन । बरु हजारौं वर्षको experience को समष्टि र जिज्ञासु पुर्खाहरुको अथक इच्छा शक्तिको बावजुद मुन्धुमको बिकास भएको हो । वहाँको तर्क छ :- किराती समाजमा जाँडरक्सी पार्ने र खाने चलनको बिकास त्यत्तिकै भएको थिएन । र जाँडको स्वरुप एकै पटकमा पूर्ण भएको पनि होइन । यो धेरैपटकको भौतिक experiment को निष्कर्षद्वारा उपभोग गर्न योग्य औसधिको रूपमा स्थापित गरियो । त्यसैगरी रक्सीको बारेमा किराती मात्र होइन नेपाली समाजमा तीनपाने रक्सी स्थापित छ । र रक्सी तीनपाने नै किन ? एकपाने हुनसक्छ, दुईपाने हुनसक्छ वा त्यो भन्दा बढी पाने पनि हुनसक्छ । अर्थात अन्य मुलुकमा निर्माण गरिएको रक्सीहरुको कुनै पनि पानको हिसाब हुँदैन । जस्तै रम, व्हिस्की, भोड्का, बियर आदि कत्ति कत्ति पाने हो ? तर तीनपाने भन्नुको तात्पर्य कुनै पनि वस्तुको बिकास तीन चरणमा मात्रै पूरा हुन्छ भन्नू हो । यो वैज्ञानिक नियममा आधारित छ ।
रक्सी बनाउने बिधिको संरचना बारे पहिलो तह :- चुलामा तामा वा धातुको भाँडा बसाइन्छ त्यसमा छोक्राजाँड राखेर पानीसँग घोलिन्छ । दोस्रो तह :- त्यो भाँडाको बिटमा ठिक अडिने, पिँधमा सिधा पर्नेगरी ठूलो एक र ठिक त्यसलाई घेरा स्वरूप वरिपरि अरु साना साना ६-७ वटा प्वाल भएको र फराकिलो मुखको घ्याम्पा आकारको फुङ्गा नामक माटोको भाँडा राखिन्छ । त्यो फुङ्गा भित्र माटोकै एक पाथी देखि दस माना सम्म जाने पैनी नामक भाँडा (बाताबाट चुहेको रक्सी सिधै संकलन गर्ने भाँडा) राख्ने र अन्तिम तहमा विशेष गरि तामाकै, पिँध पट्टी चुच्चो भएको, फुङ्गाको बिटसँग मिल्ने बिट भएको बाता नामक झण्डै १० लिटर पानी अट्ने भाँडा राखेर त्यो भरी पानी हालिन्छ र आगो लगाइन्छ । अनि पहिलो भाँडाको बिट र फुङ्गाको जोर्तीमा खरानी गिलो पारेर लिपिन्छ । त्यसैगरी फुङ्गाको बिट र बाताको जोर्तीमा पनि सुती कपडा पानीमा भिजाएर पटुका जस्तै गरि त्यसलाई बेरिन्छ । यसको अर्थ हो भित्रबाट कुनै पनि हालतमा वाष्प बाहिर जान नपाओस । रक्सी एक, दुई, तीन, चार गर्दै कत्ति पान सम्मको बनाउने हो अर्थात त्यो कत्ति पानको रक्सी हो भनेर थाहा पाउनको लागि त्यो फुङ्गाको कुनै एक पाटामा खरानी र पानी मुछेर त्यसमा औंला चोबेर तानिएको सेतो धर्काबाट थाहा हुन्छ ।
आशकुमार राईको दाबी छ कि – जाँडरक्सीको खास भूमिका मानव जीवनमा एन्टिबायोटिकको मात्रा पूरा गर्ने हो । र यो रसायन विज्ञानको सबैभन्दा पहिलो एक्स्पेरिमेन्ट हो । यो मानव समाजको ऐतिहासिक एक्स्पेरिमेन्ट हो । जुन एक्स्पेरिमेन्ट किराती पुर्खाले, खाली रक्सीको आविस्कार गर्नलाई मात्रै थिएन । कि प्राकृतिक जगतको संरचना र जाँडको उच्चतम बिकास बारे गरिएको एक्स्पेरिमेन्ट हो । यो द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तमा आधारित छ । यसको सिधा अर्थ- पृथ्वी, वायुमण्डल र ओजन तहको परिकल्पना गरिएको हो । यसरी हाम्रा पुर्खाले निरन्तर खोज अनुसन्धानको बाबजुद स्थापित किराती समाजको सभ्यता र पहिचान सहितको मुन्धुमलाई ध्वस्त पार्ने छुट कसैलाई छैन । चाहे त्यो धार्मिक प्रोपोगन्डाको आधारमा होस वा त्यो सूचीकरणको आधारमा नै किन नहोस् । अन्ततः त्यसको, मुन्धुम बिकासको मार्गमा अवरोध बन्नु बाहेक अन्य उद्देश्य हुन सक्दैन ।
अन्तमा :- विकसित मुलुकहरु विज्ञान-प्रविधिको युगमा सहभागी बनेर पनि आफ्नो अस्तित्व सुरक्षीत गरिरहेको परिवेशमा नेपाली समाज मुलतः धार्मिक भ्रमबाट मुक्त हुन नसक्नु विडम्बना हो । यसर्थ विश्वको धार्मिक क्रिडास्थल बनिरहेको छ नेपाल । यदि मुन्धुम, नेपालमा धार्मिक बर्बरताको मारमा पिल्सिनु नपरेको भए किराती पुर्खाले गरेका हरेक किसिमका एक्स्पेरिमेन्ट हरु विज्ञान सम्मत युगान्तकारी छन । यसर्थ विकसित अवस्थाको मुन्धुमको आधारमा अघि बढ्न पाएको भए आज विश्वदृष्टिकोणले हाम्रो देश नयाँ उचाइमा भेटिने कुरा प्रति कुनै सन्देह छैन । तर विज्ञान-प्रविधि प्रतिको खोजअनुसन्धानद्वारा नयाँ नयाँ आविस्कार गर्दै अघि बढ्नुको अलावा आज पनि नेपाली समाज धार्मिक कर्मकाण्डीय गतिविधि भन्दा पर जान सकेको छैन ।