मजदुर आन्दोलनको विकासक्रम-राजन तिमल्सिना
-राजन तिमल्सिना
मानिसहरुले युगैंदेखि यस्तो समाजको सपना देख्दै आएका थिए, जहाँ आर्थिक तथा सामाजिक समानता, मानवद्वारा मानवजातिको शोषण र उत्पीडनको अस्तित्व हुनेछैन । एकपछि अर्कोगरी शताब्दीहरु बित्दै गए, पृथ्वीवाट पुरै राज्य र शासकहरु बिलाए, मानवजातिको इतिहासमा नयाँ नयाँ पानाहरु थपिदै गए तर मानवजातिको पूर्ण समानता र सच्चा न्यायको “स्वर्णयुग” सम्बन्धी किम्बदन्ती उसको सम्झनामा ताजै रहृयो । मानवजातिले आफ्नो उदेश्य वा सपनाहरु परिपूर्ती गर्नको लागि इतिहासमा असंख्या संघर्ष र वलिदान गर्दै आयो । त्यस्तो संघर्ष र वलिदानले समाज विकासको प्रकृयालाई एकपछि अर्को सामाजिक परिवर्तनको जगमा उठाइदियो । साथै एउटा सामाजिक व्यवस्थाले अर्को सामाजिक व्यवस्थालाई प्रतिस्थापन गर्ने प्रकृया निरन्तर चलिरह्यो । समाज विकासको वर्तमान अवस्था त्यही संघर्षको परिणाम स्वरुप स्थापित परिवर्तित श्रृखलाको अन्तिम नतिजा हो ।
हरेक सामाजिक व्यवस्था जतिसुकै उत्कृष्ट भएपनि त्यसको उत्पत्ति, बिकास र बिनास निरन्तर प्रकृयामा भईरहने परिघटनाहरु हुन् । प्रत्येक समाजिक अवस्थामा नयाँ नयाँ अन्तरबिरोध र संकटहरु उत्पन्न हुन्छन् ती अन्तरबिरोधको समधनको लागि बिद्यमान राजनीतिक अवस्थामा क्रान्ति र परिवर्तनको आवाश्यकता पर्दछ । यसरी बिद्यमान सामाजिक व्यवस्थामा क्रमशः अन्तरबिरोध वा समस्याको उत्पति र क्रन्तिको माध्यमबाट त्यसको समधान हुदैजान्छ । क्रान्तिले समस्याग्रस्त पुरानो सामाजिक व्यवस्थालाई ध्वस्त पारेर त्यसको स्थानमा नयाँ सुसंगत सामाजिक व्यवस्थाको स्थापना गर्ने प्रकृया मानव समाजको आम ऐतिहासिक र अनिवार्य नियम बन्ने गर्दछ । मानव सभ्यताको बिकासक्रमलाई यो अवस्थासम्म ल्याउन विशेषत मजदूरवर्गको निर्णायक भूमिका रहेकोछ ।
युरोपमा औद्योगिक क्रान्तिपछि नयाँ सामाजिक शक्तिको रुपमा मजदूरवर्गको जन्म भयो । मजदूरवर्गले शिशु अवस्थादेखि नै शोषक, सामन्त, जमिन्दार, दलाल, नोकरशाही र पूँजीपतिवर्गको शेषण एवं अत्याचारको विरुद्ध जीवनमरणको संघर्ष गर्नु प¥यो । मानव सभ्यताको विकासक्रमको इतिहासमा धेरै क्रान्तिहरु भए, तर अतितका सवै क्रान्तिहरुले शोषणको एउटा रुपलाई अर्को रुपद्वारा विस्थापित मात्र गरेका थिए । जव मजदूर आन्दोलनको जगबाट माक्र्सवादको जन्म भयो, त्यसपछि मात्र सर्वहारा क्रान्ति मार्फत मानिसद्वारा मानिसमाथि हुने सवैखाले शोषणलाई जरैदेखि उन्मूलन गर्ने महान् दर्शन र विधिको ढोका खुल्यो । समाजमा परस्पर विरोधी वर्गहरु अस्तित्वमा आएदेखि सत्ता, सम्पत्ति र विशेषाधिकार रक्षाको लागि पूँजीपतिवर्गले उत्पीडित श्रमजीवी वर्गमाथि शोषण र अत्याचारलाई आफ्नो कर्म बनाउन थाले । शोषण र अत्याचारको विरुद्धमा प्रतिरोध संघर्षको बीचबाट मजदूर आन्दोलन खरिँदै संसारभरिका शासक र पूँजीपति वर्गको चिहान खन्ने नयाँ उदीयमान् शक्तिको रुपमा मजदूरवर्गले आफूलाई विकश गर्यो ।
अन्तर्राष्ट्रिय मजदूर आन्दोलनको कुरा गर्दा हामीले त्यसको इतिहास, वर्तमान र भविष्य अनि सकारात्मक र नकारात्मक पाटापक्षहरुको बिवेचना गर्नु आवश्यक छ । यो छोटो लेखमा सबै बिषयवस्तुको उल्लेख गर्न सम्वभ छैन, तैपनि संक्षिप्तमा केहि विषयवस्तुको चर्चा गरिनेछ ।
जेम्सवाटले वाष्प इन्जिनको आविस्कार गरे पछि विश्व भरि नै नयाँ नयाँ प्रविधि र मेशिनहरुको बिकास भयो । नयाँ प्रविधिको बिकास भएदेखि नै वेलायतले त्यसलाई आफ्नो पक्षमा अधिकतम प्रयोग गर्न शुरु गर्यो । वेलायतले सन् १८०२ देखि नयाँ प्रविधिको प्रयोग गर्दै तीव्र रुपले कल–कारखानकोे बिकास र स्थापना गर्यो । कलकारखानको विकाससँगै मजदूरहरु ठूलो संख्यामा वेरोजगार वन्न पुगे, मजदूरहरुको ठाँउ आधुनिक कलकारखानाले लियो । रोजगार नपाउने श्रमिकहरुको संख्या थपिँदै गयो र पूँजीपतिहरुले श्रमिकको ज्याला घटाउन थाले त्यसपछि वेरोजगारी र शोषणको मारमा परेका मजदूरहरुले संगठनको निर्माण गरी आन्दोलनको शुरुवात गरे । मजदूरहरुको आन्दोलन बढ्दै गएपछि पूँजीपतिवर्गको माग वमोजिम वेलायती सरकारले संगठनमाथि प्रतिबन्ध लगाउने ऐन, कानूनको निर्माण गर्यो । राज्यको यस्तो कदमदेखि मजदूरहरुमा विद्रोहको भावना विकास भयो । उनीहरुले गुप्त ढङ्गले संगठन निर्माण गर्न थाले ।
वेलायतका लुडाइटमा काम गर्ने मजदूरहरुको आफ्नो संगठनको तर्फबाट सन् १८११ नोभेम्वरदेखि मेशिनफोड आन्दोलनको शुरुवात गरे । यो आन्दोलनले पुरै वेलायतलाई प्रभावित पार्यो । मेशिनफोड आन्दोलनबाट आतंकीत वनेको पूँजीपतिवर्ग र वेलायतको साम्राज्यवादी सरकारको मजदूर विरोधी, चुसाहा र निर्दयी एवं स्वार्थी प्रवृति देखायो । आफ्ना जायज माग लिएर आन्दोलनमा उत्रिएका मजदूरमाथि पुलिस प्रशासन मार्फत ठूलो दमन र गोली काण्ड गरायो । दमनको र प्रतिरोध आन्दोलनको क्रममा एकजना मील मालिकको पनि ज्यान गायो । त्यसपछि झनै कठोर कानून निर्माण गरी कयौँ मजदूरहरुलाई फाँसी दियो, भने कयौँलाई जन्म कैदको घोषणा सुनायो । पूँजीपतिवर्गको दमन र मजदूरवर्गको प्रतिरोध आन्दोलनबाट संगठनले ठूला–ठूला अनुभव हासिल गरेको थियो । जसको कारण पूँजीपतिवर्गको लुटको स्वर्गमा धावा बोलि उनीहरुको नीद हराम गर्न लुडाइट आन्दोलन सफल रह्यो । वेलायती मजदूर आन्दोलनमा मेशिनफोड आन्दोलन पूर्वदेखि चाटिष्ट आन्दोलन सम्मका आन्दोलनहरु विशेषत विश्व मजदूर आन्दोलनको इतिहासमा महत्वपूर्ण शिक्षाहरु हुन् ।
सर्वहारा क्रान्तिबिन मजदूरवर्गको मुक्ति असम्वभ भएकोले क्रान्तिकारी विचार, क्रान्तिकारी संगठन, क्रान्तिकारी कार्यदिशाको आधारमा मजदूरवर्गको बिशाल फौजले मात्र यो एतिहासिक कार्यभार पूरा हुन सक्छ । यो एतिहासिक कार्यभार पूर गर्न क्रान्तिकारी ट्रेड यूनियन आन्दोलनको रक्तरञ्जित झण्डामुनि गोलबन्ध होऔ ।
फ्रान्सेली राज्य क्रान्तिपछि फ्रान्सले औद्योगिक क्रान्तिलाई बिशेष प्राथमिकता दियो । कल–कारखाना र वैंकको विकाससँगै सीमित मुठ्ठीभर मान्छेको हातमा श्रोत साधनहरु केन्द्रीत भए जसको कारण शोषण र उत्पीडनबाट मजदूर र जनसमूदायको ठूलो तप्का प्रभावित वन्यो । श्रमिकहरुको असन्तोषले सीमा नाघ्यो र गाँस, बाँस र कापासको समस्याले गरिवी र भोकमारी बढ्न थाल्यो । मजदूरले १६/१८ घण्टा काम गर्दा पनि १ छाक पेटभरि खान पाएनन्, आफ्नो अभाव र गरिवी घटाउनको लागि मजदूरहरुले ज्याला वृद्धिको माग राखी आन्दोलनको शुरुवात गर्न थाले । आन्दोलन दवाउन सरकारले सेना र पुलिसको सहारा लियो, तर आन्दोलन निरन्तर जारी रह्यो । सन् १८३१ सम्ममा सना ठूला धक्का खादै आन्दोलनले ठूलो विकास गर्यो । “काम गरेर जिऊ, लड्दा लड्दै मरिजाऊ” भन्ने नाराका साथ लियोन शहरका हजारौँ मजदूरहरु एकसाथ संघर्षमा जुटे जसको परिणाम स्वरुप मजदूरहरुले लियोन शहर १० दिनसम्म कव्जामा लिई आफ्नो झण्डा फहराइ रहन सफल भए । एउटा निश्चित राजनैतिक विचार कार्यदिशा र संगठन नभएका कारण सरकारी सेनाले पुन लियोन शहरलाई आफ्नो नियन्त्रणमा लियो ।
मजदूर विद्रोह असफलतामा टुङ्गिए पनि त्यसले फ्रान्समा मात्र हैन की सिङ्गो युरोपमा ठूलो प्रभाव पार्यो । फ्रान्सका मजदूरले पुन सन् १८३४ मा दोश्रो लियोन विद्रोह गरे । त्यसलाई पनि मील मालिक र पूँजीवादी सरकारले सेना लगाएर दवाई छाड्यो । सन् १८४८ को जुन महिनामा पुन मजदूर विद्रोह भयो । त्यस विद्रोहलाई पनि निर्दयता पूर्वक सैन्य दमन मार्फत दवाइयो । १८५१ मा नेपोलियनले प्रतिनिधिसभा भंग गरी आफूलाई सम्राट घोषणा गर्दा समेत त्यहाँका मजदूरहरु वाहेक अन्यले विरोध संघर्ष गर्न सकेनन् । १८६४ मा कोइला खानीका मजदूरहरुले ८ घण्टा कार्य दिनको माग उठाएर पुन आन्दोलन अगाडी वढाए । सन् १८७१ मार्च १८ सम्मका अनगिन्ती बन्द, हड्ताल र संघर्षको परिणाम स्वरुप फ्रान्सको पूँजीवादी सरकारलाई सत्ताच्यूत गरी सर्वहारावर्गले पेरिष कम्युनको स्थापना गरे । यो नै सर्वहरा क्रान्तिको पहिलो सफलता थियो ।
प्राचीन तथा आधुनिक मानव सभ्यताको इतिहासको अध्ययनबाट के निष्कर्षमा पुग्न सकिन्छ भने मजदूर आन्दोलन विश्वको राजनीतिक आन्दोलन भन्दा जेठो आन्दोलन हो । ट्रेड यूनियन आन्दोलन राजनीतिक पार्टीहरुको पनि जननी हो । बिश्वमा मजदूर आन्दोलनको माध्यमबाट ठूल्ठूला रजनीतिक परिवर्तनहरु भएकाछन् । बिश्वका कुख्यात तानाशाहहरुका र कुशासक बिरुद्ध मजदूर वर्गले अविराम शहास, वीरता, त्याग, वलिदान र क्रन्तिको नेतृत्व गर्दै आएको छ ।
नेपाली समाज रुपान्तरणमा पनि मजदूर वर्गको निर्णयक भूमिका रहदै आएको छ । नेपालको संकटपूर्ण र संक्रमणकालीन राजनीतिक अवस्थालाई क्रान्तिको माध्यमबाट क्रान्तिकारी रुपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी मजदूरवर्गको काँधमा आएको छ । सर्वहारा क्रान्तिबिन मजदूरवर्गको मुक्ति असम्वभ भएकोले क्रान्तिकारी विचार, क्रान्तिकारी संगठन, क्रान्तिकारी कार्यदिशाको आधारमा मजदूरवर्गको बिशाल फौजले मात्र यो एतिहासिक कार्यभार पूरा हुन सक्छ । यो एतिहासिक कार्यभार पूर गर्न क्रान्तिकारी ट्रेड यूनियन आन्दोलनको रक्तरञ्जित झण्डामुनि गोलबन्ध होऔ ।



