धनी देशको तुलनामा गरिब देशका बच्चा क्यान्सरबाट चार गुना बढी मर्छन

धनी देशको तुलनामा निम्न तथा मध्यम आय भएका मुलुकका बच्चाको क्यान्सरबाट चार गुना बढी मृत्यु हुने गरेको हालै गरिएको एक अध्ययनले देखाएको छ । यो आँकडा १९५ देशका बाल तथा किशोर क्यान्सर पीडितमाथि अनुसन्धान गर्न गरिएको पहल ग्लोबल बर्डन अफ डिजिज (जीबीडी)ले सार्वजनिक गरेको हो ।
उक्त अध्ययनअन्तर्गत छिमेकी भारतसँग सम्बन्धित आँकडाअनुसार त्यहाँका क्यान्सर पीडित ३५ प्रतिशत बच्चा पाँच वर्षसम्म मात्र बाँच्छन् । यसको उल्टो धनी देशका क्यान्सर पीडित बच्चा ८० प्रतिशत लामो समय बाँच्छन् । सोमबार ‘दि ल्यान्सेट अन्कोलोजी’मा प्रकाशित अध्ययनले बाल चिकित्सामा क्यान्सरको यो असमानता देखाएको हो ।
अध्ययनअनुसार भारत चीन, पाकिस्तान, इन्डोनेसिया र अमेरिकाजस्ता देशमा क्यान्सर पीडित बच्चाको सङ्ख्या अधिक रहेको पाइएको छ । यही कारण पनि यी देशमा बाल क्यान्सर सबैभन्दा ठूलो बोझका रुपमा रहेको छ ।
भारतको टाटा मेमोरियल अस्पतालका निर्देशक तथा बाल चिकित्सा अन्कोलोजिस्ट डा. एस डी बनवालीका अनुसार बच्चामा क्यान्सर रोग हुने देशहरुमा भारत पाँचौ नम्बरमा पर्छ । संसारका बाल क्यान्सर पीडितको सङ्ख्यामध्ये २० प्रतिशत भारतमै छन् ।
प्रत्येक दिन सात सय बच्चाको क्यान्सर डाइग्नोसिस हुने गरेको पनि उक्त अध्ययनले बताएको छ । संसारका ८२ प्रतिशत क्यान्सर पीडित बच्चा गरिब देशमा बस्ने गर्छन् । गरिब देशका क्यान्सर पीडित बच्चामध्ये ३५ देखि ४० प्रतिशतमात्रै लामो आयु बाँच्छन् । धनी देशका बच्चाचाहिँ ८० प्रतिशत बाँच्ने गरेको पनि सोही अध्ययनले प्रष्ट पारेको छ ।