सन् २००३ पछि अहिले पहिलो पटक अमेरिकामा पाँचजनालाई मृत्युदण्ड दिइँदै

वाशिङटन । अमेरिकाले विभिन्न अपराधमा संलग्न ५ व्यक्तिलाई मृत्युदण्डको सजाय दिने भएको छ । अमेरिकाले यसरी मृत्यु दण्ड दिन लागेको सन् २००३ पछि अहिले पहिलो पटक हो । तोकिएका व्यक्तिहरुलाई डिसेम्बर २०१९ र जनवरी २०२०मा मृत्युदण्ड दिइने जनाइएको छ । अमेरिकी संघीय सरकारका तर्फबाट महान्यायाधिवक्ता विलियम बारले जेल ब्यूरोलाई पत्राचार गरेर मृत्युदण्डको लागि आबश्यक तयारी गर्न निर्देशन दिएका छन् ।
बारका अनुसार यसरी मृत्युदण्ड दिन लागिएकामा बालबालिका र बृद्धबृद्धाको हत्या तथा बलात्कारका घटनासँग सम्बन्धित रहेका छन् । ती अपराधीहरुलाई सबैभन्दा खराब अपराधीको नाम दिइएको छ । मृत्युदण्ड सूचना केन्द्रका रोबर्ट डुनहामे यो निर्णय कुनै आश्चर्यको निर्णय नभएको बताएका छन् । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मृत्युदण्डका समर्थक रहेको र उनले लागूऔषध बेच्ने तथा राज्य र स्थानीय स्तरका प्रहरी अधिकारीको हत्या गर्नेलाई पनि यस्तो सजाय दिनुपर्ने जनाएका थिए ।
अमेरिकामा मृत्युदण्ड १९७२बाट सर्बोच्च अदालतको आदेश अनुसार अवैध गरिएको थियो । तर १९८८मा सरकारले कानुन पास गरी संघीय तहबाट मृत्युदण्ड दिने व्यवस्था गरिएको थियो । (बीबीसी)