Logo

पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न राज्यसँग माग-अध्यक्ष किराती


ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती ‘साईला’ले जनताको परिवर्तनको सपना पुरा गर्नका लागि तत्कालिन सोभियत संघमा लेनिनले निमार्ण गरेको जस्तो संयुक्त मोर्चाको अभ्यास नेपालमा आवश्यक भएको बताएका छन ।

अध्यक्ष किरातीले कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यस्तो बताएका हुन ।

नेकपा (माओवादी केन्द्र) र माक्र्सवाद तथा पुष्पलाल विचार मञ्चको संयुक्त आयोजनामा गत मंगलबार ललितपुरको सातदोबाटोमा उक्त कार्यक्रम भएको थियो ।

जनयुद्धका मुद्धाहरु संस्थागत गर्न संयुक्त मोर्चामा जोड दिदै उनले भने–‘तत्कालिन अवस्थामा लेनिनले सोभियत संघमा दिर्घकालिन रणनीति हासिल गर्नका लागि निर्माण गरेको जस्तो मोर्चा निर्माणमा ध्यान दिनुपर्छ ।’

अध्यक्ष किरातीले कार्यक्रममा पुष्पलालको सामाजिक व्यवस्था रुपमान्तरणको क्षेत्रमा भएको योगदानको चर्चा गर्दै उनले देखाएको बाटोमा निरन्तर अगाडि बढ्नुपर्ने औल्याए । उनले पुष्पलाललाई त्यागी, इमान र उदारवादी नेताको रुपमा व्यख्या गरेका थिए ।

उनले नेता पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न राज्यसँग माग समेत गरे । उनले पुष्पलालको विचार बोक्ने नेताहरुले सरकार चलाएको भएपनि उनको योगदानको सम्मान गर्न नसकेको बताए । वर्तमान सरकारले पुष्पलालको विचारको दुरुपयोग गरेर जनतामाथि दमनको नीति बोकेको आरोप लगाए ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो चरणमा एमालेकरण हुँदै जनताको न्याय र मुक्तिको यात्राबाट विश्राम लिदैँ संसदीय भागबण्डाको लडाईमा लागेको हुनाले आफुहरुले उनको साथ छोडेको बताए ।

उनले सर्वहारावर्गका नेताहरु अभिजातवर्गमा बदलिएपछि जनयुद्धका मुद्धाहरु स्थापित हुन नसको तर्क गरे । एकात्मक राज्य व्यवस्थाको अन्त्य गर्नको लागि लडिएको जनयुद्धले आज मुलुकमा गणतन्नत्र आएको भएपनि जनताले चाहेको जस्तो गणतन्त्र अझै नआएको उनको भनाई थियो ।

उनले तत्कालिन अवस्थामा पार्टीले प्रजातन्त्रवादीहरुसँग राजनीतिक रुपान्तरणको प्रकृयामा सन्तुलन गर्नको लागि लोकतान्त्रीक गणतन्त्रलाई माओवादीले कार्यनीतिक रुपमा स्विकार्दै अघि बढाएको खुलासा गरे ।

उनले जनताले चाहे जस्तो अवस्था मुलुकमा अझै नआएकाले आफ्नो पार्टीले जनअधिकारको मुद्धा उठाउँदै अघि बढेको बताए । उनले आफ्नो पार्टीले संयुक्त मोर्चाबारे सोचिरहेको समेत खुलासा गरे ।

माक्र्सवाद तथा पुष्पलाल विचार मञ्चका अध्यक्ष उदयराज अधिकारीको सभापतित्व तथा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका सचिव राजन तिमिल्सिनाले गरेका थिए ।

कार्यक्रममा मञ्चका महासचिव महेन्द्र जोशि लगायतले समेत आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा कम्युनिस्ट पार्टीका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्