Logo

जिम्बावे प्रतिबन्धमा परेपछि नेपाललाई यति ठुलो फाईदा


काठमाडौं । चार दिनपछि नेपालले २०२० को टि–२० विश्वकपसम्म पुग्ने अर्को खुड्किलोको रुपमा आइसीसी विश्वकप छनोट एसिया फाइनल खेल्दैछ । जुलाइ २२ मा सुरु हुने प्रतियोगितामा नेपालको पहिलो खेल जुलाइ २३ मा हुँदैछ । यो प्रतियोगिताको विजेता बन्न सके नेपाल विश्वकप छनोटम्म पुग्नेछ । यो प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, कुवेत र कतार छन् ।

नेपाल विश्वकप छनोटसम्म नजिकिँदै गर्दा नेपालको लागि दुई महत्वपूर्ण खबर एकैपटक आएका छन् । यीमध्ये नेपालको लागि दुःखको खबर हो – अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले नेपालको क्रिकेट बोर्ड क्यानमाथि लगाएको निलम्बन कायमै राख्ने निर्णय गरेको छ । विगत ३ वर्षदेखि निलम्बनमा रहँदै आएको नेपालको क्रिकेट बोर्ड अझै निलम्बित रहँदा नेपालले पर्याप्त अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने समस्या छ ।

अर्कोतर्फ आइसीसीले जिम्बाब्बे क्रिकेट बोर्डमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो निर्णयले टेस्ट मान्यता पाइसकेको जिम्बाब्बेको क्रिकेट जगतमा कालो बादल लागेको छ । अब जिम्बाब्बेले आइसीसीबाट कुनै फण्ड पाउने छैन र उसले आइसीसीका कुनै पनि प्रतियोगितामा सहभागी हुन पाउने छैन । अर्कोतर्फ, यो प्रतिबन्धले नेपालको विश्वकप यात्रा सहज हुने देखिएको छ ।

पछिल्लो समयका खेलहरु हेर्दा नेपालले अब खेल्न लागेको आइसीसी विश्वकप छनोट एशिया क्वालिफायरको खेलमा नेपालसँग प्रतिस्पर्धीहरु तुलनात्मक रुपमा कमजोर देखिन्छन् । नेपालले यो प्रतियोगिताको विजेता बन्दै विश्वकप छनोटसम्म पुग्ने अनुमान गरिएको छ । नेपालको लागि विश्वकप पुग्ने सबैभन्दा कठिन परीक्षा त्यसपछि हुनेछ । नेपाल विश्वकप छनोटमा पुगेमा छनोटमा खेल्ने टिमहरु बलिया छन् ।

यही विश्वकप छनोट खेल्ने सबैभन्दा बलियो टिम हो जिम्बाब्बे । विश्वकप छनोट खेल्ने टिमहरुमध्ये सबैभन्दा पहिले टेस्ट मान्यता पाएको र विगतका विश्वकपहरुमा लगातार विश्वकप खेलेका कारणले उसलाई बलियो मानिएको हो । आइसीसीको पछिल्लो निर्णयअनुसार यदि जिम्बाब्बेले विश्वकप छनोट खेल्न नपाउने हो भने नेपालको लागि एक अतिरिक्त स्थान सुरक्षित भएको मान्नुपर्छ ।

अहिलेसम्मको तालिकाअनुसार विश्वकप छनोटमा १४ टिमहरु खेल्नेछन् । १४ टिममध्ये स्कटल्याण्ड, जिम्बाब्बे, युएइ, नेदरल्याण्ड, हङकङ, ओमन, आयरल्याण्ड, पपुवा न्यूगिन्नी, केन्या, नामिबिया र जर्सी गरी ११ टिम छनोट भइसकेका छन् । अब एशिया फाइनल (जहाँ नेपाल खेल्दैछ) बाट एक टिम र अमेरिका फाइनलबाट २ टिम छनोट भइ १४ टिम पुग्नेछन् । यी १४ टिममध्ये शीर्ष स्थानमा रहने ६ टिम विश्वकप खेल्न पाउनेछन् ।

यी ६ स्थानमध्ये एक स्थान जिम्बाब्बेको हुने मानिएको थियो किनकि उसको पछिल्लो प्रदर्शन हेर्दा ऊ बलियो टिम हो । तर, यदि जिम्बाब्बेले खेल्न नपाएमा १३ टिमबीच मात्र प्रतिस्पर्धा हुनेछ । विश्वकपसम्म पुग्ने टिम भने शीर्ष ६ नै हुनेछन् । यस्तो स्थितिमा छनोट खेल्ने थप एक टिमले विश्वकपसम्म पुग्ने अवसर पाउनेछ । सम्भवतः त्यो नेपाल पनि हुन सक्छ । जिम्बाब्बेमाथिको प्रतिबन्धले थप एक एसोसिएट राष्ट्रलाई विश्वकपसम्म पुग्ने सम्भावना बढाएको छ ।

यद्यपि जिम्बाब्बे विश्वकप छनोट खेल्न नपाउने निश्चित भइसकेको भने छेन । अहिलेको स्थितिमा जिम्बाब्बेले विश्वकप छनोट खेल्न पाउँदैन । तर, विश्वकप छनोटसम्म पुग्दा भने उसले खेल्न पाउने बाटो खुल्न पनि सक्छ । उसले विश्वकप छनोट खेल्न पाउनु कठिन छ तर असम्भव छैन ।

नेपालको क्रिकेट बोर्ड पनि निलम्बनमा छ तर नेपाली टोलीको व्यवस्थापन स्वयं आइसीसीले गरेर नेपालको अन्तर्राष्ट्रिय खेल जारी छ । सम्भवतः जिम्बाब्बेको हकमा पनि यस्तो गरिन सक्छ तर यसबारे अहिल्यै केही भन्न सकिँदैन । आइसीसीले विश्वकप छनोटभन्दा पहिल्यै यस्तो गर्न पनि सक्छ, विश्वकप छनोटभन्दा पछि यस्तो हुन पनि सक्छ वा हुँदै नहुन पनि सक्छ ।

यो खबर हामीले डिसि नेपालबाट साभार गरेका हौ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्