‘भोजपुर दर्पण’ सम्बन्धी विमर्श
प्रदेश नं. १ को पहाडी जिल्ला भोजपुरको समग्र विषयलाई समेटेर प्रकाशन गर्न लागिएको बृहत् ग्रन्थ ‘भोजपुर दर्पण’ तयारी सम्बन्धी राजधानीमा लेखकहरूले विमर्श गरेका छन् । भोजपुर मातृभूमि बौद्ध-जोरपाटी एकता समाज, काठमाडौँले प्रकाशन गर्ने उक्त ग्रन्थमा समाविष्ट गरिने विषयहरूसम्बन्धी उक्त भेलामा विमर्श गरिएको हो । यसअघि जिल्लाका केही स्थानीय तहका जनप्रतिनिधिहरूबीच विमर्श गरिएको थियो ।
कार्यक्रममा काशीनाथ तमोट, पूर्वमन्त्री एस्पी कोइराला, पूर्वमन्त्री कृपासुर शेर्पा, प्रा.डा.प्रेमकुमार खत्री, प्रा.डा. गोविन्दमान सिंह कार्की, प्रा.डा. नृपसिंह खत्री, डा. विप्लव ढकाल, प्राज्ञ नारदमणि हार्तम्छाली, जय छाङ्छा, पवन आलोक, पासाङदोर्ची शेर्पा, डा. रुद्र सुवाल, श्याम नेपाल, सुशील कोइराला, सुरेश चापागाईं, गीता कार्की, सम्झना प्रधानलगायतले ग्रन्थमा समेटिने विषयबस्तु सम्बन्धी विभिन्न सुझाव दिएका थिए ।
ग्रन्थ प्रकाशनको उद्देश्यबारे संस्थाका अध्यक्ष गोविन्द बस्नेत, सचिव मनकुमार शेर्पाका साथै सम्पादकका तर्फबाट डा. भक्त राईले प्रकाश पार्नुभएको थियो । इतिहास, भूगोल, समाज, संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका समग्र विषय समेटिने ग्रन्थ मानक र सम्बन्धित सबैका लागि गौरवयोग्य हुनुपर्ने अधिकांश वक्ताले सुझाब दिएका थिए । अध्यक्ष बस्नेतले ग्रन्थ यसै वर्षभित्र प्रकाशन गर्ने लक्ष्य रहेको जानकारी दिए ।
कार्यक्रमको फोटो हेर्नुस