भेनिसदेखि स्यानफ्रयानसिस्कोको गोल्डेन गेट ब्रिजसम्म जापानी वृद्धहरु भ्रमण गर्दै

एजेन्सी । भेनिसदेखि स्यानफ्रयानसिस्कोको गोल्डेन गेट ब्रिजसम्म जापानी वृद्धहरु एकैठाउँ बसेर विश्वका विभिन्न स्थान घुमिरहेका छन् । यो सबै भर्चुअल रियालिटी, भीआरले सम्भव पारिदिएको छ । शारीरिक रुपमा कमजोर वृद्धहरुलाई भ्रमणको आभास गराउन युनिभर्सिटी अफ टोकियोको एउटा समुहले आधुृनिक प्रविधिको प्रयोग गरिरहेको छ जस मार्फत उनीहरुले ३६० डिग्रीको दृश्य अवलोकन गर्न पाइरहेका छन् ।
केन्ता तोसिमाको नेतृत्वमा जारी गरिएको यो कार्यक्रम मार्फत भ्रमणमा जान नसक्ने जेष्ठ नागरिकहरुलाई जीवन जीउन प्रेरित गराइनुका साथै यात्राको गर्दाको सन्तुष्टि पनि प्रदान गरिएको छ । तोसिमाले भनेका छन्, “अहिले उहाँहरु आफूले सम्झेका अझ धेरै ठाउँहरु भ्रमण गर्न चाहनुहुन्छ त्यसैले मैले सबैलाई वास्तविक यात्राको अनुभव दिलाउन ३६० डिग्री एङ्गलको क्यामरा प्रयोग गर्ने निर्णय गरेको हुँ जसले असली दुनियाँ जस्तो आभास गराउन सक्छ ।”
तोसिमाले युनिभर्सिटी अफ टोकियाका लेक्चरर एवम् असिस्टेन्ट प्रोफेसर आसुसी हियामासँगको सहकार्यमा सो प्रविधि निर्माण गरेका हुन् । जसपछि उनीहरुले शारीरिक रुपमा सक्रिय जेष्ठ नागरिकहरुलाई यात्रामा जाँदा ३६० डिग्रीको भिडियो लिन, एडिट गर्न पनि सिकाएका हुन् जुन उनीहरुले हिँडडुल गर्न नसक्ने साथीहरुलाई देखाउन सक्छन् ।
हियामा भन्छन्, “६५ वर्ष भन्दा माथि ती मध्ये ९० प्रतिशत शारीरिक रुपमा सक्रिय थिए र उनीहरुलाई एक्लै जीवन बिताउन कसैको सहायाता चाहिँदैन । यसको अर्थ उनीहरु यो कार्यक्रममा पूर्ण सहभागीता जनाउन सक्छन् ।”
सीएनएन यसैको एउटा सेसनमा सहभागी भएको थियो जहाँ ५३ वर्षदेखि ९० वर्षसम्मका सहभागीहरु थिए र एक वर्षदेखि भिआर प्रविधिबारे सिकिरहेका थिए । यसैक्रममा ८२ वर्षीय ताकासी माकीले आफू ३६० डिग्रीको क्यामरा लिइ हवाइ घुम्न गएको बताएका हुन् । उनी भन्छन्, ‘मैले ८० वर्ष पार गरिसकेको हुँदा मेरा थुप्रै साथीहरु यात्रा गर्न सक्दैनन् । तर जब मैले उनीहरुलाई आफूले खिचेको फुटेज देखाएँ उनीहरु आश्चर्यमा परे । यो क्यामराले तिनलाई धेरै मद्दत गर्न सक्छ ।’
हियामा र तोसिमाका अनुसार यो भिआर ट्राभल प्रोजेक्टले नर्सिङ हेरचाह सेवामा भौतिक पुनर्वाससँग मिलेर काम गरिरहेको छ त्यसैले भिआरमार्फत छुट्टी मनाइरहँदा बिरामीलाई मानसिक र शारीरिक रुपमा मद्दत मिल्ने अपेक्षा गरिएको छ । तोसिमा भन्छन्, “८०–९० वर्ष पुगिसकेकाहरुले जीवनको लभगभ सबै अनुभव लिइसकेका छन् । तर जब उनीहरु भिआर मार्फत हेर्छन् तिनहरुले आफ्नो आँखा अगाडि अलगै दुनियाँ महसुस गर्छन् । यस्तोमा मैले आफैँ धेरैलाई भिआरबाट हेर्दैगर्दा उठेको र उठेर हिँड्न सुरु गरेको पनि देखेको छु जो सामान्यतया उठ्दैनथे । जसले सबैलाई चकित बनायो ।”
यसरी उमेर बढेसँगै हाम्रो शारीरिक र मानसिक क्षमता कम हुँदै गएपनि हामी भिआर प्रविधि मार्फत समाजको अनभूति गरि सहभागीता जनाउन सक्ने हियामा बताउँछन् । सिएनएन