बोइङ्ग ७७७—२०० जेट विमानमा वायुका गम्भीर धक्काका कारण ३५ जना घाइते
वाशिङटन । एयर क्यानडाको एउटा फ्लाइटमा आकाशको वायुका गम्भीर धक्काका कारण ३५ जना घाइते भएका छन् । २८४ जना यात्रु रहेको सो विमान क्यानडाको भ्यान्कुभरबाट सिड्नीतर्फ उड्दै थियो । तर, आकाशमार्गमा देखिएको समस्याका कारण अमेरिकाको हवाइतर्फ लगेर होनोलुलु विमानस्थलमा स्थानीय समयअनुसार बिहीबार ६ः४६ बजे (नेपाली समय अनुसार गएराति १०ः३१ बजे) अवतरण गराइएको थियो ।
बोइङ्ग ७७७—२०० जेट विमान अचानक उड्डयनको प्राविधिक भाषामा भन्दा ‘क्लियर एयर टर्बुलेन्स(क्याट)’को समस्यामा परेको थियो । विमान कम्पनीले होनोलुलुमा यात्रुहरुका लागि होटलको व्यवस्था गरिएको जनाएको छ । यात्रुहरुका अनुसार क्याटका कारण धक्का दिँदा उडिरहेको विमानका यात्रुहरु विमानको माथिल्लो भागमा ठक्कर खाएका थिए ।
क्याट शान्त वायुमण्डलमा नै कहिलेकाहीँ हुने बताइएको छ । आकाश खुला भएको अवस्थामा पनि देखिने गर्दैन । विभिन्न हावाको झोंका आफ्नै गतिमा आकाशमा हिंडिरहने र जब ती विभिन्न गतिका हावाको वायुमण्डलमा भेट हुन्छ त्यो बेलामा ‘क्याट’ सिर्जना हुने जनाइएको छ । सोही क्याटले नै विमानमा असर गरेको हो । त्यसलाई नांगो आँखाले पनि देख्न नसकिने बताइएको छ । सो घटनाले यात्रुहरु एकदमै स्तब्ध भएको सोही विमानका एक यात्रुले बताएका छन् । एक यात्रुले भने अनुसार उनीभन्दा अगाडिका अर्का यात्रु व्यागेज राख्ने विमानको माथिल्लो भागसम्म पुगेर ठोक्किदै फेरि सिटमा आएर बस्दै गरिरहेका थिए । (बीबीसीबाट)