दैनिक २०० टन भारतीय तरकारी नेपाली बजारमा
विषादीको मात्रा धेरै भएको भन्दै भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारी केही स्थानमा परीक्षण गर्न थालिएको छ । विषादी परीक्षण तथा त्यसको रिपोर्ट आउँदा समय लाग्ने भएकाले बजारमा तरकारीको मूल्य ह्वात्तै बढ्ने टिप्पणी यतिखेर भइरहेको छ । तर यस्तो अवस्था नआउने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताएका छन् । भारतबाट आउने तरकारीको विषादी परीक्षणले आपूर्तिमा समस्या नभएको उनको भनाइ छ ।
“फलफूल तथा तरकारीको विषादी परीक्षण रिपोर्ट आउन समय लाग्ने भएकाले सुरुका केही दिन तरकारी आयात कम भएको हो, तर अहिले अवस्था त्यस्तो छैन,’’ प्रवक्ता श्रेष्ठले भने, ‘‘२–३ दिन आयातमा कमी आएको हो, अहिले ब्यालेन्समा आइसक्यो ।”
करेला, गोलभेँडा, भिन्डी, भन्टालगायतका तरकारी छिटै बिग्रिने र विषादी परीक्षणको रिपोर्ट आउन कम्तीमा एक दिन लाग्ने भएकाले यस्ता तरकारीको आयात रोकिएको र स्थानीय उत्पादनले बजारको माग धानेको समितिले बताएको छ । विशेषगरी हाल भारतबाट प्याज, कागती, माछा, आलुलगायत आइरहेको छ । भारतबाट दैनिक करिब २ सय टन तरकारी कालिमाटी बजारमा भित्रने गरेको छ ।
काठमाडौंमा छिमेकी मुलुक भारत र चीनबाट दैनिक तरकारी आयात हुन्छ । चितवन, भक्तपुर, ललितपुर, नुवाकोट, सर्लाही, सिन्धुपाल्चोक, पर्सा, तनहुँ, झापा, गोरखा तथा दोलखालगायतका जिल्लाबाट पनि दैनिक रुपमा तरकारी भित्रन्छ ।