‘पाण्डुलिपी’ कबिता-भाई किराती
रुपियोङ्छा, धार्मेहरुले
गरेका दुष्ट्कर्महरु
बिर्सेका छैनन् अझै
ती माइखोला, अरुण, तमोर, दुधकोशी,
तामाकोसी, सुनकोशी, वाग्मती र त्रीसुलीले !
र भुल्ने छैनन् कदापि
किन कि यी खोलाहरुसँग
एक थान साइनो छ मेरो पुर्खाको
भत्काउँदै र्योमली, खोटेहोङ,
तन्दुहाङ, बुदाहाङ र वालुङ किल्लाहरु
झोस्दै पुल्ठो ह्वारह्वार्ती
खुनी हमलासँगै
मेरो सभ्यताको उर्वर मौलिकतामा
उमारे रुखो दरिद्रताको पौंधा !
र आशिर्वाद बक्स भयो
“हामीलाई जितायाकोमा बढिया छ”
नदीहरुमा मिल्काइएका,
होम लगाएका चाहे त्यो
माटोमुनी गाडिएका नै किन नहोस्
त्यो मेरो सभ्यता र पहिचानका
सबुत प्रमाणहरु सबै
अन्ततः सफल छन्
आफ्नो अस्तित्व बचाउन
र त
कहिले आगोको मुस्लो बनेर
तीसौँ हजार योद्धाको कवच साथ
अस्तित्वमा आउछ,
कहिले, बालेर आगो गिदीमा
उभाएर मुक्तिको झण्डा
बढिरहेछ अघि अघि
बाँधेर कफन बचाउनलाई
पुर्खाको एक टुक्रा छाला
कुनै युगमा माईखोलाको उर्लिँदो
छालहरुसँगै लडिबडी खेल्दै हुर्किन्छ
कुनैबेला अरुण, तमोर र दुधकोशीको
बाछ्यस्थलमा हुर्किन्छ,
त कहिले दुधकोशीको काखमा,
किन कि
पाण्डुलिपि जिवित छ उसको
दल्सिनढुंगा, चक्मक र झुलोको
त्रियोगमा जन्मेको सूर्यरुपी शिशुको
नौरान गर्न जुटेका
आदिम पुर्खाहरुको “शार्बु”ले खुट्याई
राखेर साक्षी तीन चुला
थमाएको मेरो सभ्यता
र पहिचान सहितको मुन्धुम
कसैले मेटेर मेटिन्छ ?
यसर्थ,
ठोकुवा गर्दै निस्संदेह अघि बढेकै हुँ
फाँड्दै खोरिया, छर्दै बीउबिजन
अनी बसाएकै हुँ असल थिति
र बसाउनु छ अझै
हदै भए तिनीहरूले
दबाए होलान, जलाए होलान,
कुहाए होलान धित मरुन्जेल
तर देखे जत्ती मात्र त्यस्को
संस्करणहरु र फोटोकपीहरु
अन्ततः कहाँ छ र नासिने विज्ञान ?
जोसँग हुनुपर्ने हो पाण्डुलिपि
उसैसँग सुरक्षीत छ,
पाण्डुलिपि मैसँग छ ।
शासकीय दम्भ छ, न
गर्छ तुजुक नै धनदौलतको
न त छ कुनै भ्रामक ढ्ड्डाहरु
केवल बाँचेको छ त
विज्ञानको सार्वभौम सिद्धान्तको जगमा
मेरो पाण्डुलिपि
मैसँग सुरक्षीत छ
मेरो मुन्धुमको पाण्डुलिपि