देशमै पहिलो अभियान चलाएको मोरङ ‘खुला दिसामुक्त’ हुन ८ वर्ष लाग्यो
मोरङको तत्कालीन उर्लाबारी गाविसको डुम्रे एकता टोल खुला दिसामुक्त घोषणा गर्ने नेपालकै पहिलो गाउँ थियो । तर, समग्र मोरङ जिल्लालाई खुल्ला दिसामुक्त हुन आठ वर्ष लाग्यो । त्यतिमात्र होइन, खुला दिसामुक्त हुने पहिलो गाउँ भएको मोरङ जिल्ला भने यो अभियानमा ६६ औं स्थानमा पुग्यो ।
६५ वटा जिल्लाले मोरङभन्दा अगाडि नै खुला दिसामुक्तको अभियान पूरा गरिसकेका छन् । पछिल्लो पटक विराटनगर महानगरपालिकाले गत बुधबार खुला दिसामुक्त घोषणा गरेपछि मोरङका सबै तहले यो अभियान पूरा गरिसकेका छन् ।
जिल्ला समन्वय समितिका अनुसार केही चुनौतीमाझ नै भएपनि मोरङ खुल्ला दिसामुक्त भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल भन्छन्, ‘‘ढिलै भएपनि अभियान त पूरा भएको छ । अब हाम्रो उद्देश्यपूर्ण सरसफाइ जिल्लातर्फ पुग्ने हो ।’’ मोरङमा वि.सं २०६८ सालमा सुरु भएको खुला दिसामुक्त अभियान सम्पूर्ण रुपमा पूरा हुन २०७६ सम्म कुर्नुपरेको पोखरेलले बताए ।
अभियानमा साथसहयोग गरेको संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम (युएन ह्भाविट्याट) का जिल्ला संयोजक विनोद शर्माका अनुसार सरकारसँगको साझेदारीमा भएको यो कार्यक्रमले एक चरणको उपलब्धि हासिल गरेको छ । भन्छन्, ‘‘अबको तयारी पूर्ण सरसफाई जिल्लातर्फ ध्यान केन्द्रीत गनुपर्ने देखिन्छ । दाताले समेत यस्ता कार्यक्रमलाई अघि बढाउन चासो दिएका छन् ।’’
खुला दिसामुक्त अभियान सञ्चालन भएको अवधिमा मोरङमा जम्मा एक लाख ९ हजार ७ सय १६ चर्पी निर्माण भए । यसअघि जम्मा ९३ हजार १ सय ४ चर्पी थिए । मोरङमा दुई लाख २ हजार ८ सय २० घरधुरी छन् । शर्माका अनुसार जिल्लामा १८ हजार संयुक्त चर्पी छन् । यसैगरी बाढीले भत्काई मर्मत भएका चर्पीसमेत चुनौतीको रुपमा लिइएको छ । उनी भन्छन्, ‘‘संयुक्त १८ हजार चर्पीलाई एक बनाउने र दुई वर्षअघि बाढीले भत्काएका तर पूर्ण रुपमा मर्मत नभएका चर्पी नै चुनौतीको रुपमा रहेका छन् ।’’ उनले फेरि पूर्ण सरसफाइ अभियानका लागि स्थानीय र प्रदेश सरकारले समेत बजेट छुट्याएको अवस्थामा अझ राम्रो काम हुने अपेक्षा गरिएको बताए ।
विराटनगर महानगरसहित ११ स्थानीय तहले सार्वजनिक शौचालय निर्माणमा बजेट छुट्याउनुले पनि सकारात्मक ढंगले काम अघि बढ्ने अपेक्षा गरिएको शर्मा बताउँछन् । विराटनगरले १८ वटा र अन्यले समेत एकमुष्ठ रकम छुट्याएका छन् । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले पनि सार्वजनिक निजी साझेदारीमा भौतिक काम गर्ने गरी निर्माणमा बजेट छुट्याएको छ । जिसस प्रमुख पोखरेल भन्छन्, ‘‘पूर्ण सरसफाइको अबको यात्रामा सरकार र तहको जिम्मेवारी भन्दा पनि नागरिक सचेतनाको पाटो महत्वपूर्ण हो ।’’ कार्यालयले जिल्लामा आउँदो आर्थिक वर्ष पूर्ण सरसफाइलाई गति दिने तयारी रहेको पोखरेलले सुनाए ।
विराटनगर महानगरको संरचनामा समेत फेरबदल भएसँगै विराटनगर महानगरका गाभिएका वडा नम्बर १८ र १९ लाई समेत बुधवार खुल्ला दिसामुक्त वडा घोषणा भए । त्योसँगै विराटनगर महानगर पूर्णरुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको हो । यसभन्दा अगाडि नै महानगरपालिका भित्रका अन्य वडाका सबै घरधुरीमा चर्पीको पहुँच पुगिसकेको थियो । वडा नम्बर १८ का २ हजार २ सय ५६ घरधुरीमा नै चर्पी निर्माण गरी खुल्ला दिसामुक्त घोषणा गरिएको छ भने १९ का २ हजार ९ सय ५१ घरमा नै चर्पी निर्माण गरी खुल्ला दिसामुक्त वडा घोषणा गरिएको हो । अब महानगरभित्रका १९ वटै वडाका ५३ हजार ५ घरधुरीमा चर्पीको पहँुच पुगेको मेयर भीम पराजुलीले बताए । एक कार्यक्रमबीच प्रदेश १ का प्रदेश प्रमुख गोबिन्दबहादुर तुम्बाहाङले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरे । महानगरका मेयर भीम पराजुलीले भने, ‘‘खुल्ला दिसामुक्त क्षेत्र बनाउन त्यति सहज थिएन । तर, लामो प्रयास र सबैको सहयोगमा सम्भव भयो ।’’