पानी नपर्दा मुलुकभरमा रोपाइँ प्रभावित,असार २० कटिसक्दा पनि १५ प्रतिशत मात्र रोपाई सम्पन्न
समयमा पानी नपर्दा मुलुकभरमा रोपाइँ प्रभावित भएको छ । पानी नपरेपछि किसानका खेत बाँझै छन् भने राखिएको धानको बीउसमेत जोगाउन समस्या भएको छ ।
कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले समयमै मनसुन सक्रिय भएर भारी वर्षा नहुँदा मध्यपहाडी क्षेत्रमा धान लगाउन ढिला भएको बताउनुभयो । गत वर्ष असार १५ सम्म २० प्रतिशत धान रोपाइँ भएको थियो ।
यस वर्ष असार २० गतेसम्म १५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने मध्य तथा पूर्वी मधेसका जिल्लामा भने हालसम्म ११ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
वार्षिक नेपालमा १४ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । पचास प्रतिशत क्षेत्रफल झापादेखि पर्सासम्मको मध्य तथा पूर्वी मधेसका ११ जिल्लाले ओगटेको छ ।
मध्य पहाडी भू-भागमा असार अन्तिमसम्म रोपाइँ गरिन्छ तर असार अन्तिमसम्म पर्याप्त वर्षा नभएको र तत्कालै पर्ने सम्भावना नहुँदा उत्पादनमा असर पर्न सक्ने कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता सुवेदीले बताउनुभयो ।