काठमाडौंमा पानीको चरम अभाव दिन दिनै बड्दै ४२ करोड लिटर पानी आवश्यक तर १० करोड लिटर पानी मात्रै उत्पादन
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ ।
तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ । योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ । त्यसैले उपभोक्ताको घरमा ५ देखि ६ करोड लिटर मात्रै पुग्छ । यस आधारमा दैनिक एक व्यक्तिको भागमा २० लिटर मात्रै पर्छ ।
तर, उपभोक्ताले यही पानी पनि दैनिक नपाउने भएकाले जटिल समस्या छ । ‘उपत्यकाभित्रका सर्फेसमा रहेका पानीका स्रोत अधिकतम प्रयोग गरिएको छ । जमिनमुनिको पानी पनि ८० ठाउँबाट उत्पादन हुँदै छन् । यी सबैबाट दैनिक १० करोड लिटर पानी मात्रै उत्पादन हुन्छ । तर, माग ४२ लाख लिटरको छ । यति ठूलो मागलाई १० करोड लिटरले कसरी धान्न सक्छ,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार काठमाडौंमा शीतलनिवास, बालुवाटार, वसुन्धरा, नयाँबजार, गोंगबु, महाराजगन्ज, ठमेल, नक्साल, हाँडीगाउँ, सामखुसीलगायत क्षेत्रमा खानेपानीको चरम अभाव छ ।
शीतलनिवास र बालुवाटार क्षेत्रका घरहरूमा २० दिनमा बिराएर बढीमा तीन घन्टा खानेपानी वितरण गरिँदै आएको छ ।