नेपाली डिस्कोर्समा बडि पोलिटिक र बडि पोलिटिक्स
-बलदीप प्रभाश्वर चामलिङ
नेपाली डिस्कोर्समा Body politic र Body Politics
खस नेपाली भाषामा यी दुई अंग्रेजी शब्दको बिन्यास भएको छैन किनभने मूलधारका भनिने राजनैतिक विद्वानहरूलाई नेपालको प्रसंगमा यसबारे छलफल चलाउन आवश्यक छैन । यसलाई यसको भावार्थमा ढालेर बुझ्न जरुरी छ ।
बडि पोलिटिक र बडि पोलिटिक्स फरक कुरा हुन् । उच्चारण गर्दा उस्तैउस्तै लाग्ने हुनाले यी दुईको एउटै अर्थजस्तो लाग्ने भ्रम हुन्छ ।
बडि पोलिटिक (Body politic)
कुनै जनताको राजनीतिक अवयव नै Body politic (political body) हो । Political body लाई नै प्रयोगको भाषामा Body politic भनिएको हो । यसको अर्थ भनेको राजनैतिक रूपले संगठित जमात हो । कुनै पनि राज्यमा नागरिकहरूको राजनैतिक रूपले संगठित समूह हो । यसो भएको हुँदा बडि पोलिटिकलाई खस नेपाली भाषामा “राजनीतिक शरीर” भन्दा उपयुक्त हुन्छ ।
बडि पोलिटिक राजसंग दुईवटा शरीर हुन्छ (King has two bodies) भन्ने अवधारणाबाट आएको हो । अर्थात मानिसको दुईवटा शरीर हुन्छ । एउटा शरीर प्राकृतिक र अर्को शरीर राजनीतिक । त्यही भएर Body politic को डिकोटोमी Body natural (Natural body) हुन्छ । राजाको प्राकृतिक शरीर प्रकृतिको नियमअनुसार चल्छ जो भोक, प्यास र मृत्युसंग जोडिएको हुन्छ । र अर्को राजनीतिक शरीर जो राजनीतिक सत्तासंग जोडिएको हुन्छ ।
प्राकृतिक शरीरभन्दा माथि राजनीतिक शरीर हुन्छ भन्ने मान्यता हुन्छ । प्राकृतिक शरीर प्रकृतिमा बिलयनष्ट भएर जान्छ तर राजनीतिक शरीर अमर हुन्छ । राजनीतिक शरीरले प्राकृतिक शरीरलाई पूर्णता दिन्छ । राजनीतिले प्रकृतिमाथि आफ्नो प्रभुत्व राख्दछ भन्ने भाव राखिन्छ ।
बडि पोलिटिक र नेपालको आदिवासी
नेपालको आदिवासी राजनीतिक रूपले संगठित होइनन् । यिनीहरू राजनीतिक नभएर साँस्कृतिक झुण्ड मात्र हुन् । जस्तो, गुठीको पक्षमा लाखौँ जुलुस निस्कन्छ तर आफ्नो राजनीतिक हकपहिचानको लागि चारैतिर बाँडिन्छन् । रेशम चौधरीलाई भोट हालेर जिताउँछन् तर आफ्नो प्रतिनिधिलाई आजीवन जेल हाल्दा त्यसको विरूद्धमा राजनीतिक आन्दोलन गर्न संगठित हुँदैनन् । किनभने आदिवासीहरू पोलिटिकल बडि होइन । यो त साँस्कृतिक बडि मात्र हो । साँस्कृतिक बडि भनेको नाचगान र भोजभत्तेरमा मात्र संगठित हुन्छ ।
तर बाहुनहरू राजनीतिक बडि हुन् । उनीहरू सामाजिक तथा साँस्कृतिक रूपमा विभक्त भए पनि राजनीतिक मुद्धामा एक हुन्छन् । जस्तो, कम्युनिष्ट र काँग्रेस सत्तापक्ष र विपक्ष हुन् । हिन्दुजातीय सम्प्रभुता कायम गर्ने सन्दर्भमा यी दुईदल अन्ततः एक हुन्छन् । आदिवासीको पहिचानको विरूद्धमा राजनीतिक रूपले उनीहरू एकबद्ध हुन्छन् ।
बडि पोलिटिक्स (Body Politics)
यो बडि पोलिटिक्स भनेको मानव शरीरको बनावटको आधारमा अरूमाथि प्रभुत्व राख्ने राजनैतिक अभ्यास हो । मानवको शारीतिक बनावटले नै को शासक हुने र को शासित हुने भन्ने कुरा निर्धारण हुन्छ भन्ने मान्यता बडि पोलिटिक्सले राख्दछ । यो मान्यता अनुसार शासन तथा विभेद शारीरिक बनावटले निर्धारण गर्दछ ।
बडि पोलिटिक्स भनेको शरीरको बनावटको आधारमा शासन गर्न खोज्नेहरू र मानवीय गुणको आधारमा समानता कायम गर्न खोज्नेहरूबीचको संघर्ष हो । बडि पोलिटिक्समा एकातिर अरूको शरीरमाथि प्रभूत्व राख्ने प्रयास गरिन्छ भने अर्कोतिर यसका पीडितहरूले त्यसको प्रतिरोध र विरोध गर्दछन् ।
बडि पोलिटिक्सले शोषण र दमनलाई शारीरिक बनावटले जष्टिफिकेशन (युक्तीकरण) गर्न खोजिन्छ । बडि पोलिटिक्स दुई प्रकारका हुन्छन् –लैंगिक बडि पोलिटिक्स र नश्लीय बडि पोलिटिक्स ।
लैंगिक बडि पोलिटिक्स
महिला र पुरुष फरकफरक शारीरिक बनावटका हुन्छन् । पुरुषको भन्दा महिलाको शारीरिक बनावट कमजोर हुन्छ र त्यही भएर महिला पुरुषको अधिनमा र संरक्षणमा रहनुपर्छ भन्ने मान्यता राखिन्छ । बडि पोलिटिक्सको असरको कारण नारीलाई विश्वमा दमनमा राखिरहने अभ्यास भयो ।
नारीहरूलाई मताधिकारको व्यवस्था थिएन । यसै संघर्षमा नारीवाद उदय भयो । नारीहरूले अनिच्छित गर्भपतको माग राखे । “आफ्नो शरीर आफ्नो अधिकार” भन्ने नारा आयो । नारीको हकसम्बन्धि विश्वमा कानूनहरू बने ।
नेपालमा संविधानसभामा नारीलाई कति हकअधिकार दिने भन्ने बारे ठूलै बहस भएको थियो । अधिकांशले नारीलाई पुरुष सरह अधिकार दिइयो भने हिन्दु परम्परामा नै दखल आउने भन्नेसम्मको बहस चलेको थियो । अझ पनि व्यावहारमा नारीमाथि विभेद नै गरिन्छ ।
नश्लीय बडि पोलिटिक्स
हरेक नश्लको आआफ्नै शारीरिक विशेषता हुन्छ । अनुहारको बनाबट, छालाको रंग, शरीरको उचाई र यौन अंगलाई आधार मानेर गरिने शोषण र दमन बडि पोलिटिक्समा पर्दछ ।
सेतोलाई शुभ र कालोलाई अशुभको रूपमा ईङ्गीत गरियो । यसैको आधारमा सेतो मानिसहरू कालो मानिस भन्दा राम्रो र असल गुण भएको हुन्छ भन्ने डिस्कोर्स निर्माण गरियो । बाटुलो थेप्चो मुखाकृति भएका मानिसहरू भद्दा र अश्लिल हुन्छ भन्ने मान्यता राखियो ।
नश्लीय बडि पोलिटिक्स गोराको उपनिवेशकालमा अधिक थियो । काला जातिलाई दास बनाउनु नश्लीय बडि पोलिटिक्स थियो । कालाहरू स्वभावैले रंगको आधारमा दोश्रो दर्जाको हुने भएको हुँदा उनीहरूलाई दास बनाउन जायज हो भन्ने मान्यता थियो । अर्कोतिर काला जातिको प्रतिरोध अनुरुप नागरिक अधिकारको आन्दोलन भए । उता अमेरिकाका जातिय कानून “जिम क्रो ल” खारेज गर्नु प¥यो । काला आन्दोलनले एक नारा निक्याल्यो – “ब्ल्याक ईज बिउटिफुल । ”
नेपालमा दलितहरूको शरीरको ढाँचालाई करुपताको मापदण्ड बनाइयो । बाहुनहरूको शरीरको ढाँचालाई सुन्दरताको मापदण्ड बनाइयो । आदिवासीहरूको शरीरको ढाँचालाई भद्दापनको मापदण्ड बनाइयो । कोही राम्रो भए कस्तो बाहुन जस्तो राम्रो भनियो र नराम्रो हुँदा कस्तो दलित जस्तो नराम्रो भनियो । यो नश्लीय बडि पोलिटिक्सको प्रभाव हो ।
मानिसको प्रतिभालाई पनि नश्लसंग जोडियो । दलित तथा आदिवासीले कुनै बौद्धिकता प्रदर्शन गर्दा अनौँठो ठानिन्छ । राजन मुकारूङले मदन पुरस्कार पाउँदा कुनै एक पत्रकारले “तपाइँ त लाहुरे हुनुपर्ने कसरी लेखक हुनुभयो ? भनेर प्रश्न गरेको कुरा स्वयम मुकारूङले खोलेका थिए । मलाई नै कुनै एक पत्रकार सम्मेलनमा ऋषि धमलाले बाहिरिन भनेका थिए किनभने मेरो अनुहार गरेको मान्छे पत्रकार हुनसक्दैन भन्ने भान उसमा थियो । मेरो अनुहार गरेका मानिस माओवादीमा बन्दुक बोक्नेहरू हुन भन्ने मान्यता उसमा थियो ।
शरीरको छाला कै आधारमा मधेसीमूलका मानिसहरूसंग व्यावहार गरिदै आएको छ । पहिचानको संघीयता, लोकसेवाको विज्ञापन, धर्म निरपेक्षाता जस्ता कुरामा भइरहेको बखेडा नश्लीय बडि पोलिटिक्स नै हो ।
वास्तवमा बडि पोलिटिक्स भनेको नश्लीय राजनीति हो । यसमा आफ्नो नश्ल बाहेक अन्य सबै गौण हुन् र ती गौण नश्लमाथि प्रभूत्व कायम गर्नु पर्छ भन्ने मान्यता नश्लीय बडि पोलिटिक्स हो ।
नेपालमा आदिवासी र दलितहरू Body politic (political body) हुन सकेका छैनन् र नेपालको शासनको आत्माचाहिँ Body Politics छ ।