पौडेल-सिटौला समूहबीच चार घण्टा छलफल
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेताहरुले काठमाडौंमा बैठक गरेका छन्।
केन्द्रीय समिति बैठक आउन पाँच दिन अघि पौडेल-सिटौला समूहका नेताहरु एकै ठाउँमा उभिएका हुन्।
कांग्रेसले आउँदो आइतबार (असार २२ गते) केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। पहिलो चरणको राष्ट्रिय जागरण अभियान सुरु हुनुपूर्वदेखि केन्द्रीय बैठक बसेको थिएन।
२२ गते हुने बैठकमा देशैभर भएको जागरण अभियानको समीक्षा, विभागहरु गठन, भातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन, तरुण दललाई पूर्णता दिनेलगायत एजेन्डामा छलफल हुन लागेपछि पौडेल-सिटौला समूहका नेताहरु रणनीति बनाउन छलफल गरेका हुन्।
कांग्रेसका एक नेताका अनुसार मंगलबार साँझ ५ बजेदेखि चार घण्टा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको काठमाडौंस्थित घरमा बैठक बसेको हो।
बैठकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला पनि सहभागी रहेको ती नेताले जानकारी दिए।
केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले विभागहरु, भातृ संस्था गठन र पूर्णताको एजेन्डा ल्याउन लागेपछि पौडेल-सिटौला समूह छलफलमा जुटेका हुन्।