Logo

साम्राज्यवादी युद्धमोर्चा इन्डोप्यासिफिक रणनीति


राजन तिमल्सिना

यतिबेला इन्डो–प्यासिफिक रणनीति र यसको असरका बारेमा नेपाली राजनीतिको चर्चाको शिखरमा छ । यसबारे भएका अनेकौँ टिकाटिप्पणीले सबैको ध्यान केन्द्रित गरेको छ ।

संविधानको कार्यान्वयन प्रक्रियासँगै वाम गठबन्धनको तर्फबाट बहुमत प्राप्त लाल पुँजीपतिवर्गको सरकारले सत्ता सञ्चालन गरेको डेढ वर्षको अवधिमा अनेकौँ जनघात, राष्ट्रघात, भ्रष्टचार र तस्करीले सीमा नाघेको छ । जनताको सुशासन अनुभूति गर्ने अपेक्षालाई कुठाराघात गर्दै सरकारको एकपछि अर्को जनघात र राष्ट्रघातका शृङ्खलाले नयाँ रेकर्ड तोडेको छ ।

विद्यमान संविधानको असंलग्न परराष्ट्रनीतिविरुद्ध नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले अमेरिकासँग गरेको गोप्य सम्झौता पेन्टागनले सार्वजनिक गरेपछि सरकार विभिन्न बहाना बनाई त्यसलाई ढाकछोप गर्न अनेक छलकपट गर्दैछ । यस्ता ढाकछोप र छलकपट देश बेचुवाहरुको विशेषता नै हुने गरेको छ ।

दोस्रो विश्वयुद्धबाट महाशक्तिको रूपमा उदाएको अमेरिकाले आफ्नो विश्वव्यापी प्रभुत्व कायम राख्न र बिस्तार गर्न इन्डो–प्यासिफिक रणनीति र कमान्डलाई विस्तार गर्दै आएको छ । उसले संसारलाई भूगोलका र सामुद्रिक आधारमा एकीकृत सुरक्षा रणनीतिअन्तर्गत खडा गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले गठन गरेको छवटा सैन्य संरचनामध्ये इन्डो–प्यासिफिक कमान्ड सबैभन्दा ठूलो कमान्ड हो । इन्डो–प्यासिफिक कमान्डमा राष्ट्रिय स्वार्थ र सुरक्षा उद्देश्यका लागि यूएस आर्मी प्यासिफिक, मरिन फोर्स प्यासिफिक, यूएस प्यासिफिक फ्लिट, प्यासिफिक एयर फोर्स, यूएस फोर्स जापान, यूएस फोर्स कोरिया, स्पेसल अपरेसन कमान्ड कोरिया र स्पेसल अपरेसन कमान्ड प्यासिफिकलाई एकीकृतरूपमा परिचालित र सक्रिय गराएको छ ।

इन्डो–प्यासिफिक कमान्डभित्र एसिया प्रशान्त क्षेत्रको २६ करोड वर्ग किलोमिटर क्षेत्रफल जुन पूरै पृथ्वीको करिब ५२ प्रतिशत क्षेत्रफल रहेको छ, यसले अमेरिकाको पश्चिमी सामुद्रिक तटदेखि भारतीय सामुद्रिक तटहुँदै आर्टिक र अन्टार्टिक क्षेत्रलाई घेर्छ । यस कमान्डअन्तर्गत हिन्द र प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित ३६ देश रहेका छन् । यहाँ विश्वको ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या र तीन हजारभन्दा बढी भाषाभाषीहरुको बसोवास रहेको छ ।

यस क्षेत्रमा ठूला व्यापारिक केन्द्र, सैन्य शक्ति, आणविक क्षेत्रहरू, प्राकृतिक स्रोतसाधनहरु जलसम्पदा, सांस्कृतिक सम्पदा र सभ्यता रहेको छ । चीन, भारत, जापान, दक्षिण कोरिया, उत्तर कोरिया, इन्डोनेसिया, अस्ट्रेलिया जस्ता सबल राष्ट्रहरू यस क्षेत्रमा रहेकाले द्वन्द्व, शान्ति, सुरक्षा, आर्थिक विकास र विश्व व्यापारको दृष्टिकोणबाट यो क्षेत्र संसारका अरू क्षेत्रभन्दा बढी रणनीतिक महत्त्वको भएकाले नै अमेरिका इन्डो—प्यासिफिक रणनीतिमा विशेष केन्द्रित भएको देखिन्छ ।

अमेरिकी रक्षा मन्त्रालयले सन् २०१८ को मेदेखि प्यासिफिक कमान्डको भूमिका बढाई इन्डो–प्यासिफिक कमान्ड नामकरण गरेको भए पनि यो सैन्य सङ्गठन एसिया प्रशान्त क्षेत्रमा पहिलेदेखि नै सक्रिय थियो ।

अमेरिकाले सन् २०१९ भित्रै विभिन्न ८६ देशसँग ७९ वटा सैन्य साझेदारी गर्न लागेको प्रतिवेदनमा सार्वजानिक गरेको छ । नेपाललाई इन्डो–प्यासिफिक कमान्डभित्रको महत्त्वपूर्ण राष्ट्रको कोटिमा हालेको छ, जसको रणनीतिक महत्त्व भनेको चीनलाई घेरा हाल्नु हो ।

अन्त्यमा, सुगौली सन्धिभन्दा कैयौँगुण राष्ट्रघाती इन्डो–प्यासिफिक सम्झौता खारेज गर्ने र टिष्टा–काँगडा फिर्ता आन्दोलको अगुवाइ गरेर मात्रै नेपालमा राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्छ । देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र आत्मनिर्भरताका लागि सबै देशभक्त एकजुट होऔँ, राष्ट्रको सुनौलो मार्गचित्र कोरौँ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्