Logo

पारमाणविक विधेयकप्रति सांसदहरूको आपत्ति


सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरूले आपत्ति जनाएका छन्।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले सो विधेयक राष्ट्रको हित हुनेगरी नआएको भन्दै आपत्ति जनाएका हुन्।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सरकारले बाह्य ‘इन्ट्रेष्ट’मा पारमाणविक भट्टी नेपालमा सञ्चालन गर्नेसम्बन्धी विधेयक ल्याएको गम्भीर आशंका गर्दै मान्य नहुने अडान राखे।

उनले युरोपियन मुलुकहरूका समेत पारमाणविक भट्टी हटाउने काम भइरहेका बेला नेपालमा त्यसको स्थापनाको आवश्यकता नरहेको पनि स्पष्ट पारे।

सत्तारूढ नेकपाका सांसद भीम रावलले पारमाणविक भट्टी स्थापना गर्न ल्याइएको सो विधेयक राष्ट्रको हितमा नरहेको बताए। उनले सोसम्बन्धी कानुन बनाउँदा व्यापक अध्ययन गरेर मात्रै अघि बढाउन पनि सरकारलाई सचेत गराए।

सांसद रावलले पारमाणविक भट्टी निजी क्षेत्रलाई खोल्न दिने सरकारको प्रस्तावप्रति पनि आपत्ति जनाए। रेडियोधर्मीसम्बन्धी कानुन बनाउन भने सरकारले ढिलाइ गर्न नहुने सांसद रावलको भनाइ छ।

बैठकमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री भरत प्रदानले पारमाणविक भट्टी नेपालको आवश्यकता नभएको बताए। उनले मुलुकलाई नै ध्वस्त पार्ने खालका आणविक भट्टी नेपालको हितमा नरहेको पनि बताए।

डा. प्रदानले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोग नभएका कारण क्यान्सर जस्ता प्राणघातक रोग लाग्ने भएकाले सोसम्बन्धी कानुन निर्माण गर्न भने उपयुक्त हुने बताए।

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक विद्यापति झाले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगको अभावमा धेरैले क्यान्सर जस्ता रोगका कारण ज्यान गुमाउनु परेकाले त्यसको उचित प्रयोगका लागि आवश्यक कानुन बनाउन सरकारलाई सुझाव दिए।

उनले रेडियोधर्मी पदार्थको प्रयोगलाई सुरक्षित बनाउन आवश्यक प्रविधि भित्र्याउने व्यवस्था पनि तत्काल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

विधेयकमा पारमाणविक भट्टी स्थापनाका लागि निजी क्षेत्रलाई दिने सरकारको प्रस्तावप्रति विज्ञहरूको पनि आपत्ति छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्