सार्वजनिक स्थलमा अरुलाई असर नपारि खोक्ने वा हाछ्युँ गर्ने सबैभन्दा उचित तरिका
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित एउटा घटना चर्चामा आएसँगै सार्वजनिक स्थलमा खोकी वा हाछ्युँ आउँदा के गर्ने भन्नेबारे नयाँ बहस सुरु भएको छ । ट्रम्प एक अन्तर्वार्तामा सहभागी हुँदै गर्दा छेउमा रहेका कार्यबाहक अधिकारी प्रमुख, मिक मुल्भानेले घाँटी खसखसाएपछि उनले तिनलाई कडा शब्दमा ‘तिमी खोक्न लाग्दैछौ भने प्लिज बाहिर जाऊ’ भनेका थिए । यही घटना इन्टरनेटमा चर्चित भएदेखि नै औपचारिक समारोहमा सम्मिलित हुँदा खोकी वा हाछ्युँ लागे के गर्ने भन्नेमा विवाद सुरु भएको छ ।
त्यसबेला ट्रम्पले आफूले अन्तर्वार्तामा बोलिरहेका बेला बीचमा खोकेको मन नपरेको भन्ने गुनासो गरेका थिए । तर यस्तो बानी राम्रो नमान्ने ट्रम्प पहिला व्यक्तित्व भने होइनन् । यसअघि थुप्रै ठूला हस्तीहरुले खोकी र हाछ्यँु सम्बन्धी असहज मसहुस गरेको प्रतिक्रिया जनाइसकेका छन् । उसो भए सार्वजनिक स्थलमा अरुलाई असर नपारि खोक्ने वा हाछ्युँ गर्ने सबैभन्दा उचित तरिका के हो त ?
विज्ञहरुका अनुसार यसको सबैभन्दा उत्तम उपाय भनेको हाछ्युँ आउँदा सकेसम्म मानिसहरुबाट टाढा रहने प्रयास गर्नु हो । इटिक्वेट इन्स्टिच्युट अफ वासिङटनकी निर्देशक क्रिस्टल एल बेल भन्छिन्, “कुनै समय यसका लागि रुमाल प्रयोग गर्नु पर्याप्त मानिन्थ्यो तर अहिले हामीले टिस्यु, रुमाल हात जे सुकैले छेकेर हाछ्युँ गरेपनि मान्छे भएको ठाउँ भन्दा उल्टो फर्किन जरुरी छ ।”
जस्तै बस वा ट्रेनमा यात्रा गर्दा हातमा हाछ्युँ गरे समात्ने डन्डीमा किटाणु फैलन सक्छ त्यसैले कुइनोमा हाछ्युँ गर्न सकिन्छ ।
यदि कुनै समय त्यो पनि सम्भव नभएमा हामीले मान्छेको छेउमा खोकेपछि वा हाछ्युँ गरेपनि ‘एक्सक्युज मी’ भनि माफी माग्न सक्छौँ । तर जस्तै फिल्म हलमा हुँदा तपाईँलाई बेस्सरी खोकी लागेको छ भने तपाईँ बाहिर निस्किनु नै सबैभन्दा उचित हुनेछ । त्यस्तै बिरामी परेको अवस्थामा भने हात नमिलाउन बेलको सुझाव छ । यसैगरी कसैको मुखबाट नराम्रो गन्ध आइरहेको भएमा पहिले आफूले चुइङगम चपाएर उसलाई पनि खान दिन सकिने उनको भनाइ छ । यसबाहेक हाम्रो आत्मनियन्त्रणको ठूलो भूमिका रहने बताइएको छ ।
वास्तवमा मान्छेका अगाडि हाछ्युँ नगर्नुका पछाडि वैज्ञानिक कारण रहेको छ । जर्ज वासिङटन युनिभर्सिटीका असिस्टेन्ट प्रोफेसर, डाक्टर टिनेन्ज हेली–मरियम भन्छन्, “किटाणु फैलनबाट बचाउने सबैभन्दा उपयुक्त उपाय भनेको त्यसलाई फ्याँक्न मिल्ने वस्तुमा कैद गर्नु हो जस्तै टिस्युमा खोकेपछि वा हाँछ्यु गरेपछि त्यसलाई पोको पारेर फाल्न मिल्छ ।”
बिरामी मान्छेबाट निस्कासित तरल पदार्थसँग सिधा सम्पर्कमा आउनुले सबैभन्दा छिटो संक्रमण गराउने हुनाले नै यस्तो सृुझाव दिइएको विश्लेषकहरु बताउँछन् ।
तर त्यसो भन्दैमा खोकीरहेको मान्छेलाई बाहिर जान लगाउनुले मात्र यसबाट बचाउँदैन । किनभने सो व्यक्ति हामी भएठाउँमा आएपछि हामी फेरि जोखिमा हुनेछौँ । भाइरस जस्ता अतिसुक्ष्म जीवाणुहरु खोकी र हाछ्युँमार्फत अधिकतम ६ फिट टाढा पुग्न सक्छन् । त्यस्तै कसैले आफ्नो हातमा वा खुला ठाउँमा हाछ्युँ गरे तिनीहरु अरु मान्छेले छुन सक्ने वस्तुमा फैलन सक्छन् । तापनि ठेउला र टिभी बाहेक अत्यन्तै संक्रमक प्रजातिका कमै जीवाणु शरीरबाहिर लामो समय जिवित रहन सक्छन् ।



