Logo

सेयरबाट करोडपति-पुस्तकले सेयरबाट पैसा कमाउने बाटो देखाउँछ


-रबिन्द्र भट्टराई

गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई ‘भर्जिन ल्यान्ड’ बनाउने आधार हो— सेयरबाट करोडपति ।

पैसा बनाउन कति, कसरी र कस्तो दुःख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ । तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन । दैनिक दुई घन्टा गरिने अध्ययनले वर्तमानमात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ । यसैको सटिक उत्तर हो— सेयरबाट करोडपति ।

रविन्द्र भट्टराई सेयर बजार विश्लेषणका ‘पर्याय’ नै मानिन्छन् । अध्ययन, अनुसन्धान र विश्लेषण क्षमताका कारण उनी आफैंले मात्र अरुले पत्याउनै नसक्ने उपलब्धि हासिल गरेका छैनन्, थुप्रैलाई समृद्धि हासिल गर्ने मन्त्र पनि बाँडेका छन् ।

पुँजी बजारलाई बलियो बनाउन सचेत लगानीकर्ताको उपस्थिति अपरिहार्य देख्ने उनी तालिमकै लागि देशका धेरै जिल्ला पुगेका छन् । भट्टराईका सेयरबारे दस पुस्तक प्रकाशित छन् । व्यवस्थापन सङ्कायको वित्त तथा लगानी विषयका स्नातकोत्तर भट्टराईले त्रिभुवन विश्वविद्यालय, शङ्करदेव क्याम्पसमा १३ वर्ष लगानी व्यवस्थापन विषय अध्यापन गराएका थिए ।

‘पुस्तकले सेयरबाट पैसा कमाउने बाटो देखाउँछ’
पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार अमर न्यौपानेले रविन्द्र भट्टराईको लेखाईबाट आफू प्रभावित भएको उल्लेख गर्दै बिल्कुल प्राविधिक बिषयको किताबलाई सरल साहित्य जस्तो सरलीकृत गरेको भन्दै प्रंशसा गरे । ‘मलाई पुस्तक पढ्दा उत्कृष्ट साहित्य पढेजस्तै आनन्द आयो ।’ उनले थपे–‘म सेयर बुझ्दिनँ, तर यो किताब पढ्दा धेरै बुझेँ ।’

उनले टिप्पणी गर्ने क्रममा पैसाको महत्व, पैसा केन्द्रीत पछिल्लो पुस्ता तथा समाज लगायतको बिषयमा पनि आफ्नो विचार व्यक्त गरेका थिए । जीवन सन्तुलित बनाउन पनि पैसा आवश्यक रहेको र ‘सेयरबाट करोडपति’ पुस्तकले सेयरमा लगानी गरेर कसरी पैसा कमाउने भन्ने कुरा सिकाएको न्यौपानेको ठहर थियो । ‘पैसाको दास नबन, पैसालाई चाहि आफ्नो दास बनाऊ भन्ने लेखकको सुझावले मेरो मन छोयो ।’ न्यौपानेले भने–‘अहिलेको जमानामा मेहेनतले मात्र पुग्दैन, पैसा कमाउन दिमाग चाहिन्छ, सिस्टम र प्रविधि पनि उत्तिकै आवश्यक हुन्छ, लेखकले यो बिषय राम्ररी बुझाउन सक्नुभएको छ ।’

हालसम्मकै सरल भाषा
अर्का टिप्पणीकर्ता आर्थिक पत्रकार समाजका अध्यक्ष गोकर्ण अवस्थीले भट्टराईले हालसम्म लेखेको शेयर सम्बन्धी किताबमध्ये ‘सेयरबाट करोडपति’ अत्यन्त सरल रहेको बताए । ‘अर्थशास्त्रको जटिल कुरालाई यति सरल भाषामा पनि लेख्न सकिन्छ भन्ने उहाँले प्रमाणित गरिदिनुभएको छ ।’

अवस्थीले थपे–‘निकै चाखलाग्दो र व्यवहारिक किताब तयार भएको छ ।’ उनले पैसालाई नभई नहुने, तर जतिले पनि नपुग्ने अचम्मको चिज भन्दै पैसा कमाउने एउटा माध्यम सेयरमा लगानी पनि रहेको प्रष्ट्याए । ‘तर सेयरमा लगानी गर्दा धेरै चनाखो हुनुपर्छ ।’ उनले भने–‘सम्हालिएर लगानी गर्न जानिएन भने सेयरले रोडपति पनि बनाइदिन सक्छ ।’

‘सेयर उपन्यास’ लेख्ने धोको

सेयरबाट करोडपति पुस्तकका लेखक तथा चिनिएका सेयर विश्लेषक रविन्द्र भट्टराईले आफ्नो एउटा सपनाको पुस्तक तयार भएको जानकारी दिंदै भने–‘४ वर्षदेखिको मेहेनतको प्रतिफल हो यो किताब ।’ उनले सेयर बजार लगानीको उत्तम विकल्प भएको भन्दै यस बिषयमा जनतालाई बुझाउन आवश्यक ठानेर किताब लेख्ने गरेको बताए ।

सेयर बजारमा प्रवेश गर्न चाहने नवप्रवेशीका लागि ‘सेयरबाट करोडपति’ राम्रो पथप्रदर्शक बन्ने उनको विश्वास छ । ‘पैसालाई काम लगाउने हो ।’ उनले भने–‘यो काम सेयरबाट संभव छ ।’ उनले जुन पायो त्यही कम्पनीमा लगानी नगर्न सल्लाह दिंदै भने–‘ममा अझै एउटा सेयरको उपन्यास लेख्ने सपना छ ।’

लेखकले ‘सेयरबाट करोडपति’ पुस्तकमा १८ वटा बिषयसूचि समेटेका छन् । ‘काम नगरी पैसा’बाट सुरु भएको बिषयसूचि ‘सेयर बजारका रोचक कुरा’ले बिट मारिएको छ । सेयरमा बजारमा कसरी छिर्ने, सेयरमा किन लगानी गर्ने, लगानी गर्ने उत्तम तरिका, सेयरमा जोखिम, सेयर लगानीको बिमा, सक्रिय र निस्क्रिय लगानी, पूँजीगत लाभ र नगद प्रवाह, लगानीको उत्तम समय, सेयरको न्यूनतम विन्दू, सेयरको उच्चतम विन्दू, सेयर बजारको चक्र, सेयरको सिजन, राम्रो पोर्टफोलियो, थोरै काम, धेरै पैसा, धेरैले किन गुमाउँछन लगायतका बिषयसूचिमा रोचक प्रसंग र बिम्बहरुको प्रयोग गरी सेयर बजार र यसका अन्तरकुन्तरलाई उजिल्याउने काम गरिएको छ ।

सेक्स, महिला र सेयर बजारको रमाइलो तथा सटिक प्रतिविम्ब समेत पुस्तकमा समेटिएको छ । २ सय पृष्ठको पुस्तकको मूल्य ३ सय रुपैयाँ राखिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्