स्वास्थ्य तथा चिकित्सकीय सेवाको हिसाबले उत्तरप्रदेश र बिहार सबैभन्दा कमजोर राज्यहरुको सूचीमा
एजेन्सी । नयाँ दिल्ली, असार १३ । भारत सरकारको थिंक ट्यांक नीति आयोगले उत्तर प्रदेश र बिहार राज्यको स्वास्थ्य सेवा एकदमै कमजोर रहेको जनाएको छ ।
इन्सेफ्लाइटिसका कारण डेढ सयभन्दा बढी बालबालिकाको ज्यान गएको एक साता नबित्दै नीति आयोगले सार्वजनिक गरेको प्रतिवेदनले उत्तरप्रदेश र बिहारको स्वास्थ्य सेवा कमजोर रहेको देखाएको हो ।
आयोगले सार्वजनिक गरेको ‘हेल्थ इन्डेक्स २०१९’ मा सार्वजनिक स्वास्थ्य तथा चिकित्सकीय सेवाको गुणस्तरका हिसाबले उत्तरप्रदेश र बिहार सबैभन्दा कमजोर राज्यहरुको सूचीमा परेका छन् । उक्त सूचकांकमा २१ वटा प्रदेशमध्ये सबैभन्दा खराब अवस्था भएका राज्यमा पुछारबाट उत्तर प्रदेश, बिहार, उडिसा, मध्य प्रदेश, उत्तरखण्ड छन् ।
उत्तरप्रदेश र बिहारको स्वास्थ्य सेवाको स्तर क्रमशः घट्दै गएको समेत प्रतिवेदनमा उल्लेख छ । केरला राज्य भने स्वास्थ्य सेवाको उपलब्धता र गुणस्तरका हिसाबले पहिलो बन्न सफल भएको छ । शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा विगत लामो समयदेखि नाम कमाएको केरला लगातार दोस्रो वर्ष आयोगको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको हो ।
केरलासँगै आन्ध्रप्रदेश र महाराष्ट्र उत्कृष्ट सेवा भएका प्रदेशमध्ये शीर्ष तीनमा पर्न सफल भएका छन् । त्यसैगरी, सातवटा केन्द्र शासित राज्यमध्ये चण्डीगढ पहिलो र दिल्ली दोस्रो स्थानमा परेका छन् । आयोगले विभिन्न २३ वटा सूचकलाई आधार बनाउँदै ‘स्वस्थ्य राज्य प्रगतिशील भारत’ शीर्षक दिएर प्रतिवेदन तयार पारेको हो ।