किरातीले प्रचण्डलाई भने– ‘माओवादी आन्दोलनमा फर्कनुस्’
नेकपा (माओवादी केन्द्र) अध्यक्ष गोपाल किराती र डबल नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको समाचार छ । दुई अध्यक्षबीचको वार्तामा किरातीले ‘प्रचण्डलाई माओवादी आन्दोलनमा फर्कन आग्रह गर्दै विप्लव नेकपा विरुद्धको प्रतिबन्ध तत्काल खारेज गरी वार्ताद्वारा राजनीतिक समाधानको गंभीर कदम उठाउन’ आग्रह गरे ।
‘गणतन्त्र नेपाललाई अर्को अफगानिस्तान बनाउने इण्डो प्यासिफिक रणनीतिलाई खारेज गरी टिष्टा–काँगडा फिर्ता आन्दोलनमा सहयोग गर्न’ समेत नेकपा (माओवादी केन्द्र)को तर्फबाट किरातीले प्रचण्डसंग आग्रह गरे ।
किरातीले उठाएका तीनवटै विषयको आग्रहलाई प्रचण्डले ‘सकरात्मक र महत्वपूर्ण’ बताएको बुझिएको छ ।
वार्ताक्रममा, प्रचण्डले ‘नेपाली कम्युनिष्ट आन्दोलनमा प्रचण्ड स्कुलिङ र मदन भण्डाण्री स्कुलिङ बाहेक अरु स्कुलिङ नरहेको’ बताउदा प्रतिवाद गदै गोपाल किरातीले भने – ‘सर्वहारा जीवनशैलीमा आधारित नयाँ स्कुलिङ नेकपा (माओवादी केन्द्र) ले शुरु गरेको छ ।’
भेटवार्तामा सहभागी भएका पार्टी केन्द्रीय सचिव राजन तिमल्सिनाले ‘जसरी हुन्छ, जबजलाई सेबोटेज गर्न’ प्रचण्डसंग आग्रह गरे ।
दुई अध्यक्षबीच माओवादी आन्दोलनका उपलब्धीहरुको संस्थागत विकासमा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता भएको बुझिएको छ ।