‘सरकार, तेरो दुई तिहाईलाई अब जुत्ताले हानेर खेद्नु मात्र बाँकी छ’-राससका संवाददाता
काठमाडाैँ । सरकारी कोषबाट तलब खाने एक जना पत्रकारले सरकारलाई जुत्ताले हानेर खेद्नमात्र बाँकी रहेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन । राष्ट्रिय समाचार समितिको दाङ संवाददाताको रूपमा कार्यरत नविन अभिलासीले सरकारमाथि चर्को अाक्रोश पोख्दै लेखेका छन ‘हाय रे सरकार । तेरो दुई तिहाईलाई अब जुत्ताले हानेर खेद्नु मात्र बाँकी छ ।’ उनले सामाजिक सञ्जालमा व्यक्त गरेको अाक्रोशले रासस भित्र हंगामा मच्चिएको छ ।
उनले किताबमा कर लगाउने, कविलाई गिरफ्तार गर्ने र फरक विचार भएकालाई गोली हान्ने काम सरकारले गरेको भन्दै जुत्ताले हान्ने विषय लेखेका छन । उनले लेखेका छन ‘किताब माथि कर लगाउने । कविहरुलाई गिरफ्तार गर्ने र थुन्ने । फरक राजनीतिक विचार राख्नेलाई गोली हानेर मार्ने । हाय रे सरकार । तेरो दुई तिहाईलाई अब जुत्ताले हानेर खेद्नु मात्र बाँकी छ ।’
सरकारको एकमात्र समाचार संस्थाभित्र अनेक विकृति छन । सरकारले नियुक्त गरेका पदाधिकारी हाजिर लगाएर तलब खाने र भत्ता कसरी बढी लिने भन्नेमात्र केन्द्रीत हुँदा राससमा सबैभन्दा बढी समस्या देखिएको छ । हरेक दिन सरकारका राम्रा कामको भन्दा पनि विगतमा अरूले सरकारले गरेका नराम्रा काम समेत यही सरकारले गरेको भनेर समाचार लेख्ने र प्रकाशित हुनेक्रम बढेको छ ।
जनतामा निराशा छर्ने खालका बढी समाचार राससमै प्रकाशित भैरहेका हुन्छन । हुनत नेकपाको दुई तिहाईको सरकार भएपनि राससमा भने कांग्रेस निकटका जागिरेहरूको संख्या दुई तिहाई रहेको छ । त्यसको प्रत्यक्ष मारमा रसस परेको छ । सबैजसो सञ्चारमाध्यमको समाचारको एउटा स्रोतमै समस्या रहेपछि सरकारका बारेमा नकारात्मक टिप्पणी बढ्नुलाई अस्वभाविक मान्न सकिन्न ।
दलाई लामा प्रकरण सेलायो
राष्ट्रपतिको चीन भ्रमणको समयमा गत वैशाख १४ गते नियोजित रूपमा दलाई लामाको समाचार राससमा प्रकाशित भयो । जुन समाचारले मध्यरातमा खैलाबैला नै मच्चियो । गोरखापत्रमा समेत राससको समाचार गएपछि छापिएका केही पत्रिका समेत डम्प गरेर लुकाउनुपर्ने अवस्था सिर्जना भयो । दलाई लामाको समाचार प्रकाशित हुने समयमा कार्यरतहरूको बारेमा छानविन गरेर कारबाही गर्न अध्यक्षको हात र खुट्टा दुबै कामेको छ । उनले अहिलेसम्म त्यस विषयमा कुनै एक्सन लिन सकेका छैनन् ।-अन्नपूर्ण मिडियबाट