त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विषयको ‘गोल्ड मेडल’डेढ लाखमा किनबेच
काठमाडौं, १२ असार । त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हात पारेका हुन् ।
कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरिसकेको छ । छानबिनका क्रममा कर्माचार्यले डेढ लाख लिएर उत्कृष्ट नम्बर ल्याउने गरी कोइरालाको नम्बर थपिदिएका थिए ।
धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ । अनुसन्धानमा आबद्ध अख्तियार अधिकारीका अनुसार उनीहरूबीच आर्थिक लेनदेनको समेत प्रमाण भेटिएको छ ।
पेसाले अधिवक्ता कोइरालाले आफूलाई राष्ट्रपतिको हातबाट गोल्ड मेडल लिने रहर भएकाले पैसा तिरेर किनेको बताएका छन् । न्यायाधीश बन्न सहयोग पुग्ने भएकाले समेत उनी ‘गोल्ड मेडलिस्ट’ बनेको खुलेको छ । कोइरालाले यसअघि चार विषयमा स्नातकोत्तर उत्तीर्ण गरिसकेका थिए । ती विषयमा पनि आर्थिक चलखेलकै आधारमा परीक्षा उत्तीर्ण गरेको हुन सक्ने आशंका गरिएको छ ।
पाटन क्याम्पसका विद्यार्थी कोइराला नतिजा आउँदा फेल भएका थिए । तर, पछि उनी नै गोल्ड मेडलिस्ट बनेको खबर पाएपछि क्याम्पसका कर्मचारी चकित भएर अख्तियारमा उजुरी गरेका थिए । सोही आधारमा अख्तियारले छानबिन गर्दा त्रिविमा लामो समयदेखि गोल्ड मेडल किनबेच हुने गरेको खुलेको हो ।
अधिवक्ता कोइरालाले बिचौलियाका रूपमा समेत काम गरेको अनुसन्धानमा देखिएको छ । उनले यसअघि उच्च माध्यमिक शिक्षा परिषद् तथा नेपाल विद्युत् प्राधिकरणमा समेत कानुनी परामर्शदाताका रूपमा काम गरेका थिए । अख्तियारले पनिकाका अन्य कर्मचारीमाथि समेत सोधपुछ गरिरहेको छ ।
बानेश्वर क्याम्पसका कर्मचारी समेत पक्राउ
अनुसन्धानका क्रममा अख्तियारले बानेश्वर क्याम्पसमा कार्यरत कर्मचारी केदार भट्टराईलाई पनि पक्राउ गरेको छ । उनले पनि पैसा तिरेर नम्बर सच्याई प्रथम श्रेणीमा एमए स्नातकोत्तर (अर्थशास्त्र) मा उत्तीर्ण गरेका थिए । कोइरालाले नै उनलाई प्रथम श्रेणीमा उत्तीर्ण गराउन भूमिका खेलेको खुलेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयमा पनि छानबिन
त्रिविमा छानबिन थालेपछि अख्तियारमा पूर्वाञ्चल विश्वविद्यालयको समेत उजुरी परेको छ । पूर्वाञ्चल विश्वविद्यालयमा समेत लामो समयदेखि आर्थिक चलखेलका नाममा नम्बर सच्याउने काम हुँदै आएको उजुरी परेको हो । प्रारम्भिक अनुसन्धानमा पूर्वाञ्चलको नतिजामा समेत चलखेल हुने गरेको संकेत भेटिएको अख्तियार स्रोतले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट
किराती राष्ट्रिय मुक्ति मोर्चाले कडा बिज्ञप्ती जारी गर्यो
गोपाल किरातीले नेतृत्व गरिएको नेकपा (माओवादी केन्द्र)को आधिकारीक राष्ट्रिय पहिचानवादी मोर्चाको एक संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाले पहिचान, नेपाली समाजको वर्गीय, जातीय, क्षेत्रीय, लैंङ्गिक उत्पीडन र राष्ट्रिय स्वाधीनतावारे मालेमाबाद र मुन्धुमी दर्शनले पुरा गर्ने भन्दै बिज्ञप्ती जारी गरेको छ ।
बिज्ञप्तीमा भनिएको छ, ‘नेपाली राजनीतिक आन्दोलन र जातीय मुक्तिको आन्दोलन आज झन् पेचिलो अबस्थामा गुज्रिएको छ । नेपाली जनताले आमूल परिवर्तनसँंगै नयाँ नेपालको नयाँ सपना देख्ने ठूलो आशा व्यक्त गरेका थिए तर त्यो आशा सही अनुकुल हुन सकेन देशमा थुप्रै आन्दोलनहरु नभएका होइनन् । तर फलस्वरुप उत्पीडित जनताले आफ्नो अधिकार प्राप्त गर्न सकेका छैनन् । त्यसैले जातीय मुक्तिका लागि नेकपा माओवादी केन्द्र समर्थित किराती राष्ट्रिय मुक्ति मोर्चा हो ।’
किराती राष्ट्रिय मुक्ति मोर्चाले ०७५ माघ १६ र १७ मा पाचौ सम्मेलन गर्दै साहस राईको अध्यक्षतामा २३ सदस्य केन्द्रीय समिति निर्वाचित गरिएको कुरा बिज्ञप्तीमा उल्लेख छ । त्यस्तै गरी, उपाध्यक्ष सुमन राई (बाङदेल) खोटाङ, महासचिव किरण राई भोजपुर, सचिव मनिषा थुलुङ राई सोलुखुम्बु र सचिव धिराज राई भोजपुर रहेका छन् । अन्य सदस्यहरुमा योगेश्वर खालिङ सोलुखुम्बु, तमुना थुलुङ सोलुखुम्बु, रोजु राई उदयपुर, खुशी थुलुङ इलाम, कुमार याख्खा राई सुनसरी, कल्पना राई भोजपुर, अपेक्षा राई खोटाङ, रामचन्द्र राई भोजपुर, निशा खालिङ राई सोलुखुम्बु प्रताप राई भोजपुर, सजना राई खोटाङ, प्रबिना राई खोटाङ, सुष्मा राई ओखलढुंगा, मदन राई पाँचथर, जीतबहादुर राई सुनसरी र सुनिता राई भक्तपुरका रहेका छन् ।
बिज्ञप्तीमा स्पष्टका साथ भनिएको छ, ‘यस संगठनले देशव्यापी रुपमा मोर्चाको अभियान सञ्चालन गरिरहेको छ । यस मोर्चाको नामबाट चन्दा संकलन गरिने छैन । यदि आवश्यकता पर्न गएमा प्रेस विज्ञप्ती जारी गरिनेछ र यस मोर्चाको नामबाट चन्दा लिएको पाइएमा कडा कार्वाही गरिनेछ । यस मोर्चाको किराती जनसांस्कृतिक परिवार यथावत रहेको जानकारी गराइन्छ ।’
बिज्ञप्तीमा अध्यक्ष साहस राई,उपाध्यक्ष सुमन राई (बाङ्देल) र महा-सचिब किरण राईद्वारा हस्तक्षर गरिएको छ । बिज्ञप्तीको अन्तमा भनिएको छ, ‘पुनश्चः यो आधिकारीक मोर्चा रहेको छ साथै यस नामको अन्य मोर्चा नरहेको जानकारी गराइन्छ ।’