‘गलबन्दी-गलफत्ती’ र सत्ताको ‘पावर इन्जोय’- राजन मुकारुङ
सत्ताको “पावर इन्जोय” गर्ने र गरिरहेको तप्का वा वर्गले बनाएको मानकमा अडेर “जातीय स्वाङ” गर्नेहरूलाई नमस्ते किन गरिरहनु पर्ने ? हामी आफैंभित्रको नाफा मात्रैको सोचले फाइदा कल्लाई पुग्दै छ ? सामाजिक सन्जालमा व्यक्तिले गर्ने धारणा वैयक्तिक होला, तर त्यसले समाजमा कस्तो असर गर्छ ? यति सोच्ने थोरै फुर्सद निकाले हुन्थ्यो ।
“गलबन्दी-गलफत्ती”मा अल्झिँदै जातीय दम्भको बोली गर्ने र त्यसैमा लोली मिलाउनेहरूले अलिकता मात्रै संवेदनशील भैदिए हुन्थ्यो । शासकहरूसित जहिल्यै झुकिरहनुपर्ने नियतिमा लम्पट हामी आफैंले अलि बढी सलामी चढाइआएका छौं र फाइदा उनीहरूलाई नै छ । शक्तिको दम्भमा हामीले कुरूप अनुहार देखाउँदै आएका छौं । यो कुरुपता साँच्चीकै खेदजनक छ, अझ भनौं दुत्कार्य छ ।
“डेस्क”मा बसेर लेखकीय “दर-रेट” कायम गर्ने मिडियाबाज शासकहरूले बहस किन गराउँदैनन् सामाजिक मूल्य र मान्यताहरू बारे ? “स्वैर-कल्पना”को मूल्यलाई दलाल बजारको महँगीसित मापन गर्नेहरूले प्रकाश सपूतका लागि गम्भीर भएर कम्तिमा दुईचार पङ्क्ति नै भए पनि लेखिदिए हुन्थ्यो त ।
सत्ताधारी रवाफसित डर मान्नेहरू सधैं डराइरहेकै हुन्छन् । पार्टीका भातृ संस्थाहरू ओरालेर जीत-अजीतको व्याख्या गर्नुजस्तो बैमानी “सिर्जना”मा अरू केही हुँदैन । कल्ले कति लडिआयो ? सबैले बुझेकै छौं र फेरि तिनैले सत्ताको स्वरमा कति स्तुति गायो भन्ने पनि छर्लङ्गै छ । बारबार भनिआएका छौं,,, शासकीय भ्रम र दम्भ त्याग र त्यागौं ! तर, पाए आफैं अलकत्रा खाने दिगमिग लाग्दो दिमागले यस्तो मान्दैन ।
यतिबेला कठोरतापूर्वक सोध्नै पर्ने भयो- महासय, तपाईं आफूले भनेको, ठानेको माथिल्लो जाति कतिसम्म माथिको हो ? केही मापन गर्नुभएको छ ?
तर्कले नै संसार जित्छु भन्नेहरूले तर्कलाई तथ्यसंगत बनाउनुपर्छ भन्ने खै बुझेको ? अब जातीय झ्वाँकको झेली तर्क गर्नेहरूसित काफी लड्नै पर्ने भयो । अझ जातिको सूचीकरण गर्ने शासक र तिनैले भन्ने जातीयता क्लियर गर्दै अघि बढ्नै पर्ने सिधा अवस्था आयो त ।
कुरा गीतसंगीतको थियो, सिर्जनाको थियो तर त्यहीं जातीय जडता घुसाइएको छ । शम्भु राई दाजै, यस्तो हर्कत हुनसक्छ है भनेर सुझाएकै थियौं हामीले । एक अग्रज हुनाको नाताले दाजैले भाइलाई सम्झाउने बुझाउने काम हुनुपर्थ्यो ।
र, “लिजेण्ड” हुनाको भाव दाजैबाट प्राप्त भएको भए यस्तो स्थिति आउने पक्कै थिएन । तर, दु:ख लाग्दो भयो । यतिको दुत्कार्य स्थितिमा आयो कि “माथिल्लो जात हुँ” भन्ने भ्रमको घिन लाग्दो पक्ष लिन थालियो । यतिबेला कठोरतापूर्वक सोध्नै पर्ने भयो- महासय, तपाईं आफूले भनेको, ठानेको माथिल्लो जाति कतिसम्म माथिको हो ? केही मापन गर्नुभएको छ ?
बहस त गर्नै पर्छ । न्यायका लागि गर्नै पर्छ । तर, जातीय दम्भका लागि होइन ।