फेसबुकबाटै प्रहरीले थाल्यो सोधपुछ गर्ने काम
सामाजिक सञ्जालको विषयलाई लिएर नेपाल प्रहरीमा दैनिक दर्जनौं गुनासा आउँछन् । हरेक पीडितको चाहना हुन्छ, चाँडै न्याय पाइयोस् ।
तर, प्रहरीको काम सामाजिक सञ्जालका स्टाटसमाथि अनुसन्धान गर्ने मात्रै हुँदैन ।
कतिपय घटनामा सामान्य विषयमा अनावश्यक हात लागेको भनेर आलोचना पनि हुने गर्छ । त्यसैले प्रहरीले सामान्य किसिमका घटनासँग जोडिएको विषयलाई सर्वप्रथम सामाजिक सञ्जालबाटै सोधपुछ गर्न थालेको छ ।
प्रहरीको साइबर अपराध ब्युरो (सीसीबी) का प्रमुख विकास श्रेष्ठ कतिपय अवस्थामा सम्पर्कभन्दा बाहिर रहेका व्यक्तिलाई सचेत गराउन पनि यो विधि उपयोगी हुने बताउँछन् ।
प्रहरीले हालै साउदी अरबमा रहेका एक युवकलाई म्यासेन्जरमार्फत सन्देश सम्प्रेषण गरेको छ, जसले स्टाटस लेखेर ‘एजिज रेन’ नामक फेसबुक प्रोफाइललाई गाली गलौज गरेका थिए ।
‘गाली गलौज गरेको विषयमा हामीलाई जानकारी प्राप्त भएको थियो’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्रेष्ठले अनलाइनखबरसँग भने, ‘उनी विदेशमा भएकाले पक्राउ गरेर ल्याउने विषयमा अफ्ठ्यारो थियो । त्यसैले सचेत गराइएको हो ।’
अनलाइनखबरलाई प्राप्त म्यासेजको स्क्रीनसट अनुसार पीडक व्यक्तिलाई ब्युरोको आधिकारिक फेसबुक प्रोफाइलबाट सोधिएको छ, ‘तपाईं र अजिज रेनबीच पूर्व कुनै रिसिइबी थियो कि ? यसरी पोष्ट गर्नुको प्रमुख कारण के हो ? यस सम्बन्धमा, खुलाइ लेखी पठाउनु होला ।’
उनले प्रहरीलाई प्रश्नको जवाफ पनि दिएका छन् । डीआईजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्नु कानुन विपरित भएको बताउँदै सचेत रहन सर्वसाधारणलाई पनि आग्रह गरे ।