रुपन्देही र दाङमा चट्याङको कारण ६ जनाको मृत्यु
दाङमा र रुपन्देहीमा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । दाङमा चट्याङ् लागेर तीन जना बालकको मृत्यु भएको छ । आज साँझ साढे ६ बजेतिर परेको चट्याङ्ले राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ बर्षीय रमीत चौधरी, ११ बर्षकै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार राप्ती ४ स्थित मौरीघाट माबि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटना स्थलमै मृत्यु भएको हो ।
साथै सोही रुखमा चढेका बिनासका भाई ८ बर्षीय अविनास चौाधरी भने गम्भीर घाईते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले बताएको छ ।
उता चट्याङ लागेर रुपन्देहीमा आज तीन जनाको मृत्यु भएको छ । साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका २ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका-७ का ६२ वर्षीय चन्द्र बहादुर विक छन् ।
चट्याङ लागेर गम्भिर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित लुम्विनी प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
चट्याङ लागेर घाइते भएका सियारी गाउपालिका वडा नम्वर २ की १४ बर्षिय ममता साहनीको क्रिमशन अस्पतालमा र सियारी गाउपालिका वडा नम्वर ७ का ११ वर्षिय गौतम मल्लाह र १५ बर्षिय भोला मल्लाहको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।