स्रष्टा पोखरेलबारे ग्रन्थ
काठमाडौँ । कवि, निबन्धकार तथा समाजसेवी मुकुन्द पोखरेलको जीवनीमा आधारित ग्रन्थ ‘स्रष्टा मुकुन्द पोखरेल व्यक्तित्व र कृतित्व’ प्रकाशित भएको छ । सिर्जना अभियान, भक्तपुरले प्रकाशित गरेको ग्रन्थलाई कथाकार धु्रव मधिकर्मीले सम्पादन गर्नुभएको हो ।
ग्रन्थमा साहित्यकारहरू प्रा.डा. जयराज आचार्य, डा. कृष्णप्रसाद दाहाल, डा. रामदयाल राकेश, धीरकुमार श्रेष्ठ, दामोदर पुडासैनी, अभय श्रेष्ठ लगायत दुई दर्जन भन्दा बढी लेखकहरूद्वारा स्रष्टा पोखरेलका बारेमा लेखिएका व्यक्तित्व, कृतिपरक समालोचना, समीक्षा, टिप्पणी र संस्मरणहरू समाविष्ट छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भक्तपुर, सिरुटारका स्रष्टा पोखरेल एक लगनशील स्रष्टा र मिलनसार समाजसेवी भएको बताउनुभयो । सम्पादक मधिकर्मीका अनुसार स्रष्टालाई जीवितै हुँदा सम्मान गर्ने उद्देश्यले ग्रन्थको प्रकाशन गरिएकोे हो ।