जब विप्लवले प्रचण्डलाई भने– ‘काठमान्डौ लाने भन्दै बम्बई लाने त होइन कामरेड?’

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव हिँडेको बाटो पार नलाग्ने बताएका छन्।
भरतपुर महानगरपालिकाको चौथो नगरसभा समुद्घाटन समारोहमा बोल्दै प्रचण्डले शान्ति प्रक्रिया आउँदा विप्लवले शंका व्यक्त गरेको सम्झना गरे। ‘एउटा मिटिङमा बहस हुँदाखेरी विप्लवले एउटा तर्क गर्नुभयो।
जसले मेरो पनि दिमाग खलबलिएको थियो। उहाँले भन्नुभएको थियो– कमरेड! तपाईंले हामीलाई काठमाडौं त लिएर आउनुभयो। तर, मलाई नुवाकोटको एउटी भर्खरकी तामाङ केटीलाई काठमाडौं लगेर बिहे गर्छु भनेर बम्बई पुर्याए जस्तो महसुस भयो।’
अहिले भने बम्बई लगेको रहेनछ भनेर विप्लवले बुझेको हुन सक्ने प्रचण्डले आशा गरे।
‘मैले सबैलाई काठमाडौं नै ल्याएको छु। मैले कसैलाई पनि बम्बई लगेको छैन। यति बुझ्नलाई उहाँलाई केहीकेही गर्नुपर्ने थियो। गर्नुभयो। अब धेरै गर्नुहुन्न भन्ने मलाई लागेको छ’, प्रचण्डले भने।
बम्बई लगेको रहेनछ बरु सबैलाई काठमाडौं र नेपालमा नै विवाह गराउनका लागि पहल गरेको रहेछ भन्ने बुझेको दिन विप्लव शान्तिपूर्ण राजनीतिमा आउने प्रचण्डले दाबी गरे।
प्रचण्डले आफूले विप्लपलाई नजिकबाट चिनेको भन्दै थपे, ‘शान्ति प्रक्रियामा आउँदा दुई वर्ष उहाँ मेरो कार्यालयको मुख्य सचिव भएर बसेको कारणले मैले नजिकबाट चिन्छु।
आफूले पाएको संकेत अनुसार विप्लव शान्तिपूर्ण बाटोमा आउने र समस्याको पनि शान्तिपूर्ण समाधान हुने प्रचण्डले बताए। अन्य साथीहरु फर्किएझैं विप्लव पनि फर्किने उनले दाबी गरे। विप्लवको मनमा आफूप्रति घृणा नभएको प्रचण्डको भनाइ थियो।
-नेपाल लाइभ