विप्लवको बन्द: २८ स्थानमा शंकास्पद वस्तु फेला
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौंमा सामान्य परे पनि जिल्लाहरुमा भने पूर्ण प्रभाव परेको छ। राजधानी काठमाडौंबाट विभिन्न जिल्ला जाने लामो दूरी तथा जिल्लाहरुमा चल्ने छोटो दूरीका सवारीसाधन ठप्प प्रायः छन्।
विद्यालय, बजार तथा उद्योग, कलकारखानासमेत बन्दको प्रभावमा परेका बताइएको छ। आफ्ना कार्यकर्ता हत्या तथा पक्राउ गरेको विरोधमा आज विप्लव नेकपाले नेपाल बन्द आह्वान गरेको हो। यसैक्रममा आज देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएका छन्।
प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार देशका २८ भन्दा बढी स्थानमा शंकास्पद वस्तु राखिएको भेटिएको छ। जनतामा त्रास र भय सिर्जना गर्न तार हुक गरी यस्ता शंकास्पद वस्तु राखिएको उनले बताए।
यसैक्रममा यस्तै शंकास्पद वस्तु किर्तिपुर र ललितपुरको जावलाखेलमा समेत राखिएको भेटिएको छ। किर्तिपिरको नयाँबजारको गेट छेउमा बिहान ५: ५ बजेको समयमा रातो झण्डाले बेरिएको भित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु भेटिएको र सो वस्तु बम नभएको प्रमाणित भएको प्रहरीले जनाएको छ।
यस्तै शंकास्पद वस्तु जावालाखेलमा पनि भेटिएको भए पनि सो वस्तु बम नभएको प्रहरीले स्पष्ट पारेको छ। विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएपछि देशभर सुरक्षाव्यवस्था कडा बनाइएको छ। सोमबार रात्री सेवा तथा मंगलबार बिहान छुटेका लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरी गन्तव्यमा पुर्याउने काम भइरहेको पनि प्रहरीले जनाएको छ।



