विश्वकप क्रिकेटमा उपाधि दाबेदार मानिएको दक्षिण अफ्रिका नमिठो हार सहित विश्वकपबाट बाहिरियो
एजेन्सी । उपाधि दाबेदार मानिएको दक्षिण अफ्रिका इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।
लर्ड्समा आइतबार भएको खेलमा पाकिस्तानसँग ४९ रनले पराजित हुँदै दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको हो ।
यो हारसंगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिने दोस्रो टिम बनेको छ । यसअघि अफगानिस्तान बाहिरिसकेको छ ।
लर्ड्स क्रिकेट मैदानमा पाकिस्तानले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले ६३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यस्तै दक्षिण अफ्रिकाका लागि व्किनटन डी ककले ४७ रन जोड्दा एडिले लक्कीले अविजित ४६ रन बनाए । त्यस्तै भान डेर डुसेनले ३६ तथा डेभिड मिल्लरले ३१ रन जोडे ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न पाकिस्तानका शादब खान र वाहब रियाजले ३र३ विकेट लिए । यस्तै मोहमद आमिरले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनाएको थियो ।
पाकिस्तानका लागि हरिश सोहिल र बाबर आजमले अर्धशतकीय इनिङस खेले । हरिशले ५९ बलमा ३ छक्का र ९ चौकाको मद्दतले सर्वाधिक ८९ रन बनाए । बाबरले ६९ रन बनाए ।
यस्तै फकर जमान र इमाम उल हकले समान ४४ रनको योगदान गरे । इमाद वासिम २३ तथा मोहमद हाफिज २० रनमा आउट भए ।
दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए । यस्तै इमरान ताहिरले २ विकेट हात पारे ।
दक्षिण अफ्रिकालाई हराएसंगै पाकिस्तानले शीर्ष चारमा रहदै सेमिफाइनलमा पुग्ने सम्भावना राखेको छ । पाकिस्तानले ६ खेलबाट ५ अंक जोडेको छ ।
दक्षिण अफ्रिकाले ७ खेलमा मात्र ३ अंक जोडेको छ । र, शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने दक्षिण अफ्रिकाको सपना सकिएको छ । दक्षिण अफ्रिका पुछारबाट दोस्रो स्थानमा छ ।